स्वावलम्बन लघुवित्तको १९ औं वार्षिकोत्सव सम्पन्न

काठमाडौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ औं वार्षिकोत्सव काठमाडौंमा सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न समारोहको सभापतित्व सञ्चालक समितिका अध्यक्ष रामकुमार श्रेष्ठले गर्नुभएको थियो । वित्तीय संस्थाले प्रत्येक वर्ष माघको पहिलो साता देशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाउदै आएको र यस पटक पनि सातै प्रदेशका विभिन्न स्थानमा वित्तीय साक्षरता, स्वास्थ्य शिविर, समुदाय विकास, वातावरण संरक्षण तथा अन्य सामाजिक कार्य गरी वार्षिकोत्सब समारोहको आयोजना गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले उत्कृष्ट वित्तीय संस्थाको रुपमा सदस्यलाई लघुवित्त सेवा पु¥याएको र १९ औ वार्षकोत्सवले थप उर्जाका साथ कार्य क्षेत्रमा लाग्न शुभकामना समेत दिएका थिए । लघुवित्त संस्थाहरुको संख्या बृद्धिसंगै अस्वस्थ प्रतिस्पर्धा बृद्धि भएकोले गुणस्तरीय सेवा प्रवाहका लागि संस्थाहरुले मर्जर नीति अवलम्बन गर्न सल्लाह पनि दिएका छन । आगामी तीन वर्षसम्ममा लघुवित्त संस्थाहरु २५–३० वटाको संख्यामा झार्नु पर्ने आवश्यकता रहेको बताउँदै गुणस्तरीय र दीगो सेवा प्रभावकारी ढंगले प्रवाह गर्न प्रविधिमा लगानी गर्नुपर्ने आवश्यकता समेत औल्याउनुभयो ।
समारोहमा लघुवित्त अभियन्ता शंकर मान श्रेष्ठले नेपालको लघुवित्त क्षेत्रको विकास र विस्तारमा पु¥याएको योगदानको कदर स्वरुप अभिनन्दन गरिएको थियो । श्रेष्ठले लघुवित्त कार्यक्रममा आवद्ध भई कर्जाको सदुपयोग गर्न सके आर्थिक अवसर श्रृजना हुने बताए । लघुवित्त नाफामूखी व्यवसाय नभई सेवा मूलक व्यवसाय रहेको उहाँको भनाई थियो । लघुवित्त क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धाले लघुवित्तको छवीमा ठूलो असर पुगेको र यसलाई समयमै सुधार गर्न नियामक निकायले विशेष भूमिका खेल्नुपर्ने पनि उहाँले बताए ।
सञ्चालक समितिका अध्यक्ष तथा समारोहका सभापति रामकुमार श्रेष्ठले लघुवित्त गरिवी निवारणको उपयुक्त अस्त्र भएकोले यसको स्वस्थ विकास र विस्तारमा जोड दिनुपर्ने बताए । लघुवित्त वित्तीय संस्थाले कार्यक्रममा आवद्ध सदस्यहरुको आयस्तरमा बृद्धि गर्न उनीहरुलाई विभिन्न क्षमता अभिवृद्धि तालिमको आवश्यकता रहेकोले सोही अनुरुप लघु उद्यमशीलता विकासका लागि वित्तीय संस्था अगाडी बढ्ने बताए ।
प्रमुख कार्यकारी अधिकृत भोजराज वस्यालले स्वागत गर्नुहुँदै वित्तीय संस्थाले हाल सातै प्रदेशका ६१ जिल्लामा रहेका १४० शाखा कार्यालयबाट २ लाख ४५ हजार घरपरिवारलाई प्रत्यक्ष सेवा पु¥याएको बताए । नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई सार्थक बनाउन मौद्रिक नीति मार्फत सबै नेपालीको बैंक खाता र सबै स्थानीय तहमा वित्तीय पहुँच राख्न नेपाल राष्ट्र बैंकको निर्देशनलाई सार्थक तुल्याउन लघुवित्त वित्तीय संस्थाको समेत ठूलो भूमिका रहेको बताए ।
वित्तीय संस्थामा आवद्ध ज्येष्ठ ग्राहक सदस्यहरु, उत्कृष्ट लघुउद्यमी, वचतकर्ता तथा केन्द्रहरु, सञ्चालक समितिका पूर्व सञ्चालकहरु लगायत २० वर्ष सेवा गरेका कर्मचारीहरुलाई सम्मान गरिएको थियो । साथै, उत्कृष्ट शाखा कार्यालय, कर्मचारीका छोराछोरीहरु मध्ये २०७५ सालको एसइइ परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने ६ जनालाई नगद सहित सम्मान–पत्र प्रदान गरिएको थियो ।