एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने म्याद अब माघ १७ गतेसम्म थप
काठमाडौं । एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थपिएको छ । अब लगानीकर्ताले माग १७ गतेसम्म भर्न सक्नेछन् । यसअघि छिटोमा माघ ६ गते बिहीबारसम्म समय दिइएको थियो ।
यसअवधिमा सबै नबिकेपछि अन्तिम समय अर्थात् माघ १७ गतेसम्म नै पुर्याइएको हो । यसले माघ ३ गतेबाट ऋणपत्र बिक्री खुला गरेको हो । बैंकले २० लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गरेको हो ।
यसमध्ये १२ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी ८ लाख युनिट सर्वसाधारणका लागि खुला गरिएको छ । यसबाट सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याएको छ । सामूहिक लागानी कोषहरुले कुल ४० हजार इकाई पाउने छन् । सर्वसाधारणले बाँकी ७ लाख ६० हजार युनिटका लागि आवेदन दिन सक्नेछन् ।
यस ऋणपत्रमा वार्षिक ८.५ प्रतिशत ब्याजदर पाइनेछ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नेछ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले ८ वर्ष अवधिको एभरेष्ट बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गरेको हो ।
यसमा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यपिटलले गरेको छ । यो ऋणपत्रलाई रेटिङ एजेन्सी कियर नेपालले न्यून कर्जा जोखिम जनाउने ‘कियर एनपी एए माइनस’ रेटिङ दिएको छ । यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।























