citizens life insurance long ad
stcnepal long ad

निजी क्षेत्रमा प्रवाहित कर्जा १० प्रतिशतले वृद्धि

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । चालू आर्थिक वर्षको पाँच महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १०.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ७.१ प्रतिशतले बढेको थियो ।

नेपाल राष्ट्र बैंकबाट प्रकाशित आ.व. २०७८/७९ को पाँच महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार सो अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकको कर्जा प्रवाह १० प्रतिशतले, विकास बैंकको १२.३ प्रतिशत र वित्त कम्पनीको कर्जा प्रवाह १७.५ प्रतिशतले बढेको हो ।

२०७८ मङ्सिर मसान्तमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये ६६.५ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १२.४ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।

२०७७ मङ्सिर मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.३ प्रतिशत र १२.१ प्रतिशत रहेको थियो ।

आव २०७८/७९ को पहिलो पाँच महिनामा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्र तर्फको कर्जा १२.१ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्र तर्फको कर्जा १०.७ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्र तर्फको कर्जा ५.८ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्र तर्फको कर्जा १०.९ प्रतिशतले र सेवा उद्योग क्षेत्र तर्फको कर्जा ४.९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ८.७ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १७.२ प्रतिशतले, डिमान्ड तथा अन्य चालू पुँजी कर्जा ५.४ प्रतिशतले, रियल स्टेट कर्जा  (व्यक्तिगत आवासीय घर कर्जा समेत) ८ प्रतिशतले, ट्रस्ट रिसिट (आयात) कर्जा ८.२ प्रतिशतले र हायर पर्चेज कर्जा ५.१ प्रतिशतले बढेको छ भने मार्जिन प्रकृति कर्जा ५.३ प्रतिशतले घटेको छ ।

आन्तरिक कर्जाको वृद्धि ७.१ प्रतिशत
नेपाल राष्ट्र बैंकका अनुसार २०७८/७९ को पाँच महिनामा कुल आन्तरिक कर्जा ७.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ६.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ मङ्सिर मसान्तमा यस्तो कर्जा २८.५ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ११.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ७.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ मङ्सिर मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ३०.२ प्रतिशतले बढेको छ ।

निक्षेप झन्डै दुई प्रतिशतले वृद्धि
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १.७ प्रतिशतले बढेको छ । यो वृद्धिदर अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ६.५ प्रतिशतले बढेको थियो ।

२०७८ मङ्सिर मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ७.१ प्रतिशत, ३१.५ प्रतिशत र ५४.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ८.१ प्रतिशत, ३३.१ प्रतिशत र ५० प्रतिशत रहेको थियो ।

२०७८ मङ्सिर मसान्तमा बैंकतथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३९ प्रतिशत रहेको छ । २०७७ मङ्सिर मसान्तमा यस्तो निक्षेपको अंश ४२.७ प्रतिशत रहेको थियो ।

अन्तर बैंक कारोबार बढ्यो
आ.व २०७८/७९ को पाँच महिनामा वाणिज्य बैंकको १२ खर्ब ३५ अर्ब ७२ करोड रुपियाँ र अन्य वित्तीय संस्था (वाणिज्य बैंक बाहेक) को एक खर्ब ८४ अर्ब आठ करोड गरी कुल १४ खर्ब १९ अर्ब ८० करोड रुपियाँको अन्तर बैंक कारोबार भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकको एक खर्ब २८ अर्ब ५३ करोड रुपियाँ र अन्य वित्तीय संस्थाको ७८ अर्ब ५६ करोड रुपियाँ गरी कुल २०७ अर्ब नौ करोड रुपियाँ अन्तर बैंक कारोबार भएको थियो ।

IME Life
kumari