बैंकहरुले यी विवरण ७ दिनभित्र राष्ट्र बैंकमा पठाउनुपर्ने
काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरुले नयाँ स्थानमा एटीएम मेसिन सञ्चालनको बारेमा ७ दिनभित्र नेपाल राष्ट्र बैंकलाई विवरण पठाउनुपर्ने भएको छ।
राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको जनाएको छ। नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले एटीएम मेसिन रहेको स्थानको विवरण सञ्चालनमा आएको ७ दिनभित्र राष्ट्र बैंकमा पठाउनु पर्नेछ।
त्यस्तै शाखारहित बैंकिङ केन्द्रको विवरण पनि बैंक तथा वित्तीय संस्थाहरुले सञ्चालन भएको ७ दिनभित्र राष्ट्र बैंकमा पठाउनु पर्नेछ। शाखारहित बैंकिङ केन्द्रमा रहेका ग्राहक तथा विद्युतीय कार्डको विवरण तथा ई–बैंकिङ कारोबार सम्बन्धी विवरण भने मासिक रुपमा अर्को महिनाको ७ गतेभित्र केन्द्रीय बैंकमा पठाउनु पर्नेछ।
यसैगरी भुक्तानी सेवा प्रदायकले मासिक रुपमा अर्को महिनाको ७ गतेभित्र कारोबार विवरण, सफल र असफल कारोबार विवरण, सेटलमेन्ट बैंकमा रहेको खाताको हिसाब मिलान विवरण र ग्राहकसम्बन्धी विवरण राष्ट्र बैंकमा पठाउनु पर्ने जनाएको छ।
त्यस्तै भुक्तानी प्रणाली सञ्चालकको कारोबार सम्बन्धी विवरण, सफल र असफल कारोबार विवरण, एजेन्ट सम्बन्धी कारोबारको विवरण, क्रेडिट कार्ड र प्रिपेड कार्डबाट भएको नगद कारोबार सम्बन्धी विवरण र क्लियरिङ हाउसबाट भएका कारोबारका विवरण पनि मासिक रुपमा अर्को महिनाको ७ गतेभित्र राष्ट्र बैंकमा पठाउनु पर्नेछ।
अनुमति प्राप्त संस्थाहरुले यस्ता विवरण रिपोर्टिङ पोर्टलर सुपरभाइजर इन्फोर्मेसन सिस्टम (एसआईएस) मार्फत राष्ट्र बैंकमा पठाउनु पर्ने जनाएको छ।





















