राष्ट्रिय वाणिज्य बैंकद्वारा साधारण सभा पुस २९ गते आह्वान
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो १६ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको गत पुस ७ गते बुधबार बसेको बैठकले वार्षिक साधारण सभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको छ।
सभा काठमाडौंको दरबारमार्गस्थित बैंकको सभाहलमा दिउँसो २ बजेबाट सुरु हुने जनाएको छ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्ता पुँजीको कुल ३३ प्रतिशत लाभांश पारित गर्नेछ। जसमा ३० प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) छन्।
नेपाल सरकारबाट राष्ट्रिय वाणिज्य बैंकको सेयरपुँजीमा लगानीबापत प्राप्त रकम अर्थ मन्त्रालयको नाममा सेयर कायम गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु पनि अनुमोदन गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि बैंकले यही पुस १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १८ गतेसम्म कायम सेयरधनीहरुमा यो बैंक लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।





















