नबिल डिजीबैंक पोर्टल सार्वजनिक, भीकेवाईसी र भर्चुअल आई–कार्ड सेवाको पनि सुरुआत
काठमाडौं । नबिल बैंकले अधिकारिक रुपमा ‘नबिल डिजीबैंक’ पोर्टल सार्वजनिक गरेको छ। नबिल डिजीबैंक पोर्टलमार्फत बैंकका ग्राहकहरुले एकद्वार मार्फन अनलाइन सेवाहरु प्राप्त गर्न सक्ने छन्।
ग्राहकलाई सहज र सरल बैंकिङ अनुभव प्रदान गर्न यस पोर्टल मार्फत बैंकले आफ्नो उत्पादन तथा सेवालाई स्वचालित बनाएको जनाएको छ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले आज शुक्रबार आयोजित एक कार्यक्रमबीच नबिल डिजीबैंक पोर्टलको सुरुआत गरेका हुन्। कम्प्युटराइज्ड बैंकबाट सुरु भएको यात्रा अब भने साँच्चिकै डिजिटल बैंकका रुपमा विकास भएको छ।
विगत ३७ वर्षमा बैंकले विभिन्न कोशेढुंगा पार गरेर देखाएको छ। बैंकका विभिन्न उपलब्धिमध्ये नबिल डिजीबैंक पनि एक हो। बृहत् डिजिटल भिजन र रणनीति निर्माण गर्न अगस्ट २०२० मा उक्त परियोजना स्थापना गरिएको थियो।
बैंकले आज नबिल डिजीबैंक पोर्टलमार्फत उक्त परिकल्पनालाई साकार पार्दै वास्तविकता परिणत गर्ने दिशामा थप एक पाइला अघि बढाएको छ।
नबिल डिजीबैंकमा अनलाइन फिक्स्ड डिपोजिट, डेबिट तथा क्रेडिट कार्ड अनुरोध, डेबिट कार्ड रिप्लेसमेन्ट, मर्चेन्ट अनबोर्डिङ र रिटेल तथा एसएमई लोन आवेदन लगायत अनलाइन सेवा उपलब्ध छ । यसका साथै बैंकले आगामी दिनमा अन्य धेरै अनलाइन सेवाहरु थप गर्दै जाने योजना बनाएको छ।
सोही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले भिडियो प्रमाणीकरणबाट खाता खोल्न सकिने (भीकेवाईसी) र भर्चुअल आई–कार्डलगायत थप २ नयाँ अनलाइन सेवाहरु समेत सार्वजनिक गरेका छन्।
भीकेवाईसीको सुरुआतसँगै ग्राहकहरुसँग केवाईसी प्रमाणीकरणका लागि बैंकको शाखा पुग्ने वा अनलाइनबाटै बैंकलाई आवश्यक विवरण पेस गर्ने २ विकल्प उपलब्ध भएको छ।
भीकेवाईसी छनोटमार्फत ग्राहकले क्यामेराको प्रत्यक्ष अगाडि बसेर आफ्नो परिचय वा पूर्वनिर्धारित परिचयात्मक अभ्यास गरी ग्राहक पहिचानसम्बन्धी कार्य पूरा गर्नुपर्ने हुन्छ।
त्यसैगरी नबिल भर्चुअल आई–कार्ड स्मार्ट बैंक एपभित्र इम्बोस्ड गरिएको सेवा हो। जसका माध्यमबाट ग्राहकले सजिलैसँग आफ्नो प्यान अपलोड गरी भर्चुअल आईकार्डका लागि आवेदन दिन सकिन्छ। साथै, ब्यालेन्स, टपअप पनि गर्न सकिन्छ।
ग्राहकको अनुरोध अनलाइनबाट प्रशोधन गरिन्छ र कार्ड वितरणहरु (कार्ड नम्बर, म्याद समाप्ती मिति, सीभीभी)सहित मोबाइल बैंक एपभित्र भर्चुअल कार्ड तुरुन्त जारी हुन्छ। भर्चुअल आई–कार्ड (भारतीय रुपैयाँबाहेकका) ई–कारोबारका लागि पनि प्रयोग गर्न सकिन्छ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत शाहले भने– ‘यो नबिल बैंकको डिजिटल यात्राको सुरुआतमात्रै भएको र अघि बढ्दै गर्दा हामी नबिल डिजीबैंक पोर्टलमा बैंकका धेरैभन्दा धेरै सेवामात्र गराउने नभई बैंकको सेवाका साथै अन्य संस्थाहरुसँग सहकार्य गर्दै बिल भुक्तानी, यात्रा, खाना, किनमेल लगायतका सुविधा समेत प्रदान गर्ने छौँ।’


























