citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

गभर्नर नियुक्तिमा विलम्ब, अबको बाटो के ?

kumari bank
Prabhu Insurance Long Ad
global bank
आर्थिक सञ्जाल बिहीबार, २९ फागुन २०७६
काठमाडौं ।  नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया अगाडि बढाउन सरकारले ढिलासुस्ती गरेको छ । राष्ट्र बैंक ऐनमा बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यतयः १ महिना अगावै अर्को गभर्नर नियुक्त गरिसक्नुपर्ने प्रावधान छ । वर्तमान गभर्नर डा. चिरञ्जीवी नेपालको ५ वर्षे कार्यकाल सकिन करिब एक साता मात्रै बाँकी रहेको छ । गभर्नर नेपालको कार्यकाल चैत ५ गते सकिंदै छ । यसरी हेर्दा सरकारले फागुन ५ गते भित्र नयाँ गभर्नर नियुक्ति गर्नुपर्ने हो । तर त्यसो हुन सकेन ।
कार्यकाल सकिनु भन्दा १ महिना अगावै बिदा लिएर बस्न सक्ने प्रावधान भए पनि गभर्नर नेपाल बिदामा बसेनन् । नयाँ गभर्नर नियुक्ति प्रक्रिया अघि नबढेकाले उनी बिदामा नबसेको बताइन्छ । यद्दपि, गभर्नर बन्नका लागि दौडधुप र राजनीतिक लबिङ भने निकै बाक्लिएको छ । लबिङ बाक्लिए पनि सरकारले गभर्नर नियुक्ति प्रक्रिया भने अगाडि बढाएको छैन ।
गभर्नर नियुक्तिको प्रावधान यस्तो छ
नेपाल राष्ट्र बैंक ऐन २०५८ मा भएको व्यवस्था अनुसार मन्त्रीपरिषद्ले गभर्नर नियुक्ति गर्नको लागि सिफारिस समिति गठन गर्नुपर्छ । उक्त सिफारिस समितिको अध्यक्ष अर्थमन्त्री हुन्छन् । समितिमा पूर्व गभर्नरहरु मध्येबाट एक जना सदस्य हुन्छन् भने अर्को सदस्यमा सरकारले तोकेको व्यक्ति हुने प्रावधान छ । यस्तो व्यक्ति आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा वाणिज्य कानुनको क्षेत्रमा लब्ध प्रतिष्ठित हुनुपर्नेछ ।
समितिले गभर्नर नियुक्तिका लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रको लब्धप्रतिष्ठित व्यक्तिहरु मध्येबाट दुई जना छान्नुपर्छ । एक जना भने राष्ट्र बैंकका डेपुटी गभर्नर मध्येबाट छान्नुपर्ने कानुनी व्यवस्था छ । समितिले कुल तीन जनाको नाम सिफारिस गर्नुपर्छ । ती तीनै जनाको नाम मध्येबाट मन्त्रिपरिषद्ले एक जनालाई गभर्नर नियुक्त गर्ने व्यवस्था रहेको छ । तर, सरकारले हालसम्म गभर्नर नियुक्तिका लागि समिति समेत गठन गरेको छैन ।
यस अघि पनि डा. युवराज खतिवडा गभर्नरबाट अवकाश भएपछि मात्र नयाँ गभर्नर नियुक्त गरिएको थियो । ऐनमा भएको ‘सामान्यतय’ भन्ने शब्दमा टेकेर सरकारले बारम्बार गभर्नर नियुक्तिमा ढिलासुस्ती गर्दै आएको जानकारहरु बताउँछन् । यही प्रवृत्ति पुनः यसपटक पनि दोहोरिने सम्भावना देखिएको छ । यद्दपि, सरकारले चैत ५ गतेसम्म पनि गभर्नर नियुक्ति गर्न नसकेमा राष्ट्र बैंकका वरिष्ठ डपुटी गभर्नरलाई गभर्नरको कामकाज गर्ने गरी कायम मुकायम नियुक्ति गर्न सक्ने व्यवस्था रहेको छ ।

राष्ट्र बैंक ऐनमा गभर्नरको मृत्यु, राजीनामा, बिरामी, बिदामा वा अन्य कुनै कारण परी गभर्नरले बैंकको काम गर्न नसकेमा उक्त अवस्थामा वरिष्ठ डपुटी गभर्नरलाई कामु नियुक्ति गर्न पाउने व्यवस्था गरिएको छ । उक्त ऐनमा भएको अन्य कुनै कारणको व्यवस्थामा टेकेर सरकारले वरिष्ठ डपुटी गभर्नरलाई कामु नियुक्ति गर्ने सम्भावना अहिले पनि दोहोरिन सक्ने सम्भावना रहेको कानुनविद्हरु बताउँछन् ।

यसअघि राष्ट्र बैंकका १३ औं गभर्नर विजयनाथ भट्टराई पदमा रहेकै बेलामा भष्ट्राचार आरोप लागेको थियो । त्यसबखत कामु गभर्नरका रुपमा कृष्णबहादुर मानन्धर नियुक्ति भएका थिए । त्यतिबेला मानन्धरले मुद्रामा समेत हस्ताक्षर गरेका थिए । यद्दपि, कामु व्यक्तिलाई दैनिक कार्यसम्पादन गर्ने अधिकार हुन्छ भने महत्वपूर्ण निर्णय लिने अधिकार हुँदैन ।
गभर्नरको दौडमा को–को ?
गभर्नर नियुक्तिको प्रक्रिया ढिलो भएसँगै राजनीतिक लबिङ बाक्लिएको छ । गभर्नर बन्ने दौडमा अर्थ मन्त्रालयबाट भर्खरै अवकाश पाएका पूर्वसचिव डा.राजन खनालको चर्चा चुलिदो छ । खनाल गत महिनासम्म राष्ट्र बैंकको सञ्चालक समेत थिए । अर्थसचिव राष्ट्र बैंकमा पदेन सदस्य हुने व्यवस्था बमोजिम उनी केन्द्रीय बैंकको सञ्चालक समितिमा रहँदै आएका थिए । यता, राष्ट्र बैंककै सञ्चालक डा.सुबोधकुमार कर्ण पनि लाइनमा रहेका छन् । उनी चार्टर्ड एकाउन्टेन्ट हुन् । साउथ एसिया फोडेरेसन अफ एकाउन्टेन्टस् (साफा) का अध्यक्ष पनि भइसकेका छन् ।
त्यस्तै, नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ पनि गभनर्रको लाइनमा छन् । शिवाकोटी पूर्व एमाले खेमाका मान्निछन् । अहिले खासगरी सत्तामा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको दुई गुट (पूर्व एमाले र माओवादी) ले गभर्नर पद आफ्नो पोल्टामा पार्ने अभियानमा लागेका छन् ।  गभर्नर नियुक्तिको पूर्वसन्ध्यामा बालुवाटारबाट पुस्तक विमोचन गराउन सफल शिवाकोटीको प्रम ओलीले खुलेरै प्रशंसा गरेका छन् । श्रेष्ठ पनि दौडमा रहेका छन् । उनको पनि प्रधानमन्त्रीसँग विशेष सम्बन्ध रहेको र उनी पनि बलिया आकांक्षी रहेको चर्चा पनि उत्तिकै छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भइसकेका मीनबहादुर श्रेष्ठलाई पनि अर्का प्रमुख दाबेदारको रुपमा लिइएको छ । उनलाई नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट व्यक्ति मानिन्छ । श्रेष्ठ राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक समेत हुन् । प्रचण्ड प्रधानमन्त्री हुँदा योजना आयोगका उपाध्यक्ष रहेका थिए । स्रोतहरुका अनुसार नेकपाकै नेता नारायणकाजी श्रेष्ठले उनलाई गभर्नर बनाउन लागि परेका छन् । नारायणकाजी र मीनबहादुर पुराना मित्र हुन । थापाथली क्याम्पस युनियनका सभापति नारायणकाजी हुँदा उनी सचिव थिए ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी पनि चर्चामा रहेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडा राष्ट्र बैंकको गभर्नर हुँदा उनको मुख्य सल्लाहकार र सहयोगीको भूमिका निर्वाह गरेका अधिकारी पनि वित्तीय क्षेत्रको कुशल प्रशासक मानिन्छन् । यता, राष्ट्र बैंकमै काम गरिसकेका वासुदेव अधिकारी पनि अकांक्षी देखिएका छन् । उनी पनि डा. खतिवडाकै निटकट मानिन्छन् ।
त्यस्तै, केही महिना पहिले नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश भई हाल नेपाल धितोपत्र बोर्डका अध्यक्ष बनेका भीष्मराज ढुंगाना, अर्थ मन्त्रालयका पूर्वआर्थिक सल्लाहकार प्राडा गोविन्द नेपाल, राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भाष्करमणी ज्ञवालीको नाम पनि चर्चामा छ ।

तर गभर्नर बन्न धेरैको दौडधुप भइरहेको अवस्थामा यी चर्चामै नरहेका तर अर्थमन्त्रीले निकै विश्वास गरेका र अप्ठेरो पर्दा उनले समेत सल्लाह लिने एक व्यक्ति पनि नेपथ्यमा रहेको भन्नेहरु पनि उत्तिकै छन् । धेरै जना आकांक्षी बनेको र राजनीतिक दौडधुप तीब्र पारेको अवस्थामा अन्तिम प्रहरमा गभर्नर नियुक्ति हुने र विल्कुलै नयाँ व्यक्ति आउन सक्ने सम्भावना पनि उत्तिकै रहेको स्रोतहरुको भनाई छ । इशारा कोइराला 

gold
himalayan life insurance long ad