हिमालयन बैंकको २० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी १० अर्ब ६८ करोड नाघ्यो
काठमाडौं । हिमालयन बैंकको २० प्रतिशत लाभांश पारित भएको छ । पुस २७ गते सम्पन्न बैंकको २८औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
सभाले सेयरधनीहरुलाई १४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद (कर सहित) गरी २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । यससँगै उक्त बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी १० अर्ब ६८ करोड रुपैयाँ नाघ्ने छ ।
सभामा संचालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६/०७७ को प्रतिवेदन प्रस्तुत गरिएको थियो । ग्राहकले बैंकप्रति गरेको विश्वास तथा व्यवस्थापनको सृजनात्मक क्रियाशीलताबाट बैंकले निरन्तर प्रगति गरिरहेको जानकारी गराइयो ।
बैंकको बार्षिक साधारण सभा कोभिड–१९को महामारीको कारण नेपाल सरकारद्वारा जारी स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्दै भिडियो कन्फ्रेन्सको माध्यमबाट संचालन भएको हो ।
यसका साथै २८ वर्षदेखि निरन्तर सेवारत हिमालयन बैंक नेपालको वित्तिय क्षेत्रको अग्रणी मध्येको सुरक्षित र भरपर्दो बैंक भएको तथा नवीन, सुरक्षित तथा अत्याधुनिक बैंकिङ्ग प्रणालीको विकास गर्दै जनताको विश्वास अनुरुप अझ सुलभ तथा स्तरीय सेवा पुर्याउने लक्ष्यमा बैंक सदा झैं प्रतिबद्ध रहेको छ ।
हाल, बैंकले देशभर ७० शाखा, ४ विस्तारित काउन्टर, १४६ एटीएम र ४२०० भन्दा बढी पीओएस टर्मिनलस् संख्या बाट सेवा प्रदान गर्दै आएकोे छ । समीक्षा अवधिमा निक्षेप अघिल्लो वर्षको तुलनामा १६.६० प्रतिशतले वृद्धि भई १ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको छ । कर्जा सापट ९।२५ प्रतिशतले बढ्न गई १ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको निष्कृय कर्जा १.०१ प्रतिशतमा सीमित गरिएको छ ।























