सिद्धार्थ बैंकले निकाल्यो वित्तीय विवरण
काठमाडौं । सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५० करोड रुपैयाँ खुद नाफा कमाएको छ । नाफा अघिल्लो वर्षको भन्दा ३.९८% ले थोरै हो । अघिल्लो वर्ष यस बैंकले ५२ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ६.१५% र २.७५% ले घटेपछि समग्र नाफा प्रभावित भएको देखिन्छ ।
यसको वितरण योग्य नाफा पनि ४८ करोड ६२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । निक्षेप संकलन र कर्जा लगानी भने क्रमशः २६.२१% र १६.८९% ले बढाउन बैंक सफल भएको छ । असोजसम्म यसको चुक्ता पुँजी ९ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । रिजर्भ कोषमा ५ अर्ब ६६ करोड रुपैयाँ छ ।
पुँजीको आधारमा हेर्दा रिजर्भ कोष भने तुलनात्मक रुपमा कमजोर देखिन्छ । यो त्रैमाससम्म आइपुग्दा सिद्धार्थको प्रतिसेयर आम्दानी २ रुपैयाँ ९६ पैसाले घटेर २० रुपैयाँ ०७ पैसामा झरेको छ । प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ ६३ पैसा रहेको छ ।























