कुमारी बैंकको मुनाफा २९३ प्रतिशतले बृद्वि ७ अर्ब ३८ कराेड रूपैयाँ मुनाफा आर्जन
काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को अन्तिम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार बैंकले अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा गत आर्थिक वर्ष २०८२/८३ मा नाफामा वृद्धि गरेको छ ।
वितरणयोग्य मुनाफा पनि बृद्वि गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा १ अर्ब ८७ करोड ९७ लाख रुपैयाँबाट २९३ प्रतिशतले वृद्धि भई ७ अर्ब ३८ करोड ७२ लाख रुपैयाँ कायम भएको छ।
बैंकको आम्दानीको मुख्य स्रोत मानिने खुद ब्याज आम्दानीमा भएको वृद्धिले नाफा बढ्न गएको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११ अर्ब ६२ करोड १५ लाख रुपैयाँबाट ३.४७ प्रतिशतले बढेर १२ अर्ब १ करोड ३० लाख रुपैयाँ नाघेको छ ।
खुद फी तथा कमिसन आम्दानी २ अर्ब ६६ करोड १६ लाख रुपैयाँबाट बढेर ३ अर्ब ४ करोड ८८ लाख रुपैयाँ पुगेको देखिन्छ। त्यसैगरी बैंकको कुल सञ्चालन आम्दानी १५ अर्ब १९ करोड ४० लाख रुपैयाँबाट ७.६६ प्रतिशतले बढेर १६ अर्ब ३५ करोड ८४ लाख रुपैयाँ पुगेको छ ।
सञ्चालन मुनाफा ५ अर्ब ५८ करोड ७२ लाख रुपैयाँबाट १०१ प्रतिशतले बढेर ११ अर्ब २३ करोड ५५ लाख रुपैयाँ नाघेको छ। नाफा र आम्दानीमा वृद्धि भएसँगै बैंकको प्रतिशेयर आम्दानी पनि ६.९४ रुपैयाँबाट वृद्धि भई २८.१७ रुपैयाँ कायम हुन पुगेको छ।
खराब कर्जा पनि ६.९५ प्रतिशतबाट बढेर ७.४६ प्रतिशत कायम भएको छ । यस्तै प्रतिशेयर नेटवर्थ १७०.८० रुपैयाँ कायम भएको छ।
बैंकको वितरणयोग्य मुनाफा अघिल्लो वर्ष ३ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ ऋणात्मक रहेकोमा एक वर्षको अवधिमै ७९ करोड १६ लाख रुपैयाँले बढाउन सफल भएको छ। चुक्ता पूँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको कुमारी बैंकको रिजर्भ कोष १४ अर्ब ७४ करोड रुपैयाँबाट बढेर १७ अर्ब ७७ करोड रुपैयाँ कायम भएको छ।
यस बैंकले उल्लेख्य मात्रामा लगानी विस्तार गरेको वित्तीय विवरणमा उल्लेख छ। बैंकले कर्जा लगानी २ खर्ब ६० अर्ब ३२ करोड रुपैयाँबाट बढाएर २ खर्ब ७० अर्ब ९२ करोड रुपैयाँ पुर्याएको छ । यस्तै निक्षेप संकलन ३ खर्ब ६४ अर्ब ६३ करोड रुपैयाँबाट बढाएर ४ खर्ब २ अर्ब ७३ करोड रुपैयाँ पुरयाएको छ। बैंकको कुल सम्पत्तिको मूल्य ४ खर्ब ४१ अर्बबाट ४ खर्ब ९० अर्ब रुपैयाँ पुगेको बताएकाे छ।





















