फिफा अध्यक्षको दौडबाट पछि नहट्ने ताशिमाको अडान
जापान फुटबल सङ्घका पूर्वअध्यक्ष तथा फिफा अध्यक्ष पदका उम्मेदवार कोजो ताशिमा । फाइल तस्बिर
टोकियो । जापानका फिफा अध्यक्ष पदका उम्मेदवार कोजो ताशिमाले आगामी मार्चमा हुने निर्वाचनबाट पछि नहट्ने स्पष्ट पार्नुभएको छ ।
वर्तमान अध्यक्ष जियानी इन्फान्टिनोलाई चुनौती दिन फ्रान्सेली फुटबल महासङ्घका अध्यक्ष फिलिप डायलोले पनि उम्मेदवारी दिएपछि ताशिमाले प्रतिस्पर्धा जारी राख्ने बताउनुभएको हो ।
डायलोले इन्फान्टिनोलाई पराजित गर्न साझा रणनीतिका लागि सहकार्यको प्रस्ताव गर्नुभएको छ । ताशिमाले डायलोलाई प्रतिद्वन्द्वीका रूपमा नहेरेको र उहाँसँग निकट सहकार्य गर्न चाहेको बताउनुभयो । तर, तत्काल उम्मेदवारी फिर्ता लिने सोच नरहेको उहाँको भनाइ छ ।
फिफामा पारदर्शिता र संस्थागत अखण्डता कायम गरी विश्वास पुनःस्थापित गर्नु आफ्नो प्रमुख उद्देश्य रहेको ताशिमाले बताउनुभएको छ ।
विशेषगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेपपछि अमेरिकी खेलाडी फोलारिन बालोगुनमाथिको प्रतिबन्ध हटाइएको घटनाले फिफामा सुधार आवश्यक रहेको उहाँको निष्कर्ष छ ।
इन्फान्टिनोले सन् २०१६ देखि फिफाको नेतृत्व सम्हाल्दै आउनुभएको छ र चौथो कार्यकालका लागि समर्थन जुटाइरहनुभएको छ । ताशिमाले भने अध्यक्ष बन्ने व्यक्तिगत आकांक्षाभन्दा संस्थागत सुधारलाई प्राथमिकता दिएको बताउनुभयो ।
सन् २०१६ देखि २०२४ सम्म जापान फुटबल सङ्घको अध्यक्ष रहनुभएका ६९ वर्षीय ताशिमा अहिले मानार्थ अध्यक्ष हुनुहुन्छ । उहाँले फिफाको नेतृत्वमा खेलाडी, रेफ्री र टोलीहरूलाई बढी महत्त्व दिँदै संस्थाको संरचना परिवर्तन गर्नुपर्ने धारणा राख्नुभएको छ ।


























