मुक्तिनाथ विकास बैंकको सीईओमा तारा मानन्धर नियुक्त
काठमाडौं । मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तारा मानन्धर नियुक्त भएका छन्। बैंकको वैशाख ३ गते बसेको सञ्चालक समिति बैठकले यो निर्णय गरेको हो। मानन्धरलाई चार वर्षको कार्यकालका लागि सीईओ नियुक्त गरिएको बैंकले जनाएको छ।
हाल बैंकको सीईओको जिम्मेवारी सम्हालिरहेका प्रद्युमन पोखरेलको कार्यकाल यही वैशाख मसान्तमा समाप्त हुँदैछ। जेठ १ गतेदेखि मानन्धरले औपचारिक रूपमा पदभार ग्रहण गर्नेछन्।
मानन्धर अनुभवी र दक्ष बैंकरका रूपमा चिनिन्छन्। उनको बैंकिङ यात्रा तत्कालीन नेपाल बंगलादेश बैंकबाट सुरु भएको थियो। त्यसपछि उनले तत्कालीन एनसीसी बैंक, सिटिजन्स बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, प्रभु बैंक, प्राइम बैंकलगायत बैंकहरूमा काम गरे।
प्रभु बैंकको डेपुटी सीईओ भइसकेका मानन्धर साविक कैलाश विकास बैंकको डेपुटी सीईओ भएका थिए । कैलाश विकास बैंक प्राइम बैंकमा मर्ज भएपछि कनिष्ठ पद दिएको भन्दै उनले राजीनामा गरेका थिए।
उनीसँग बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव रहेको बताइएको छ। उनी यसअघि मुक्तिनाथ विकास बैंकको डेपुटी सीईओ भइसकेका छन्।
मुक्तिनाथ विकास बैंक वाणिज्य बैंकमा स्तरोन्नति हुने चरणमा छ। वाणिज्य बैंक बन्न न्यूनतम चुक्ता पूँजी ८ अर्ब रुपैयाँ आवश्यक हुन्छ। आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गरिएको वित्तीय विवरण अनुसार मुक्तिनाथ विकास बैंकको पुँजी ७ अर्ब ४ करोड रुपैयाँ रहेको थियो। २०८१/८२ का लागि १३.५३ प्रतिशत बोनस सेयर घोषणा भइसकेपछि बैंकको पुँजी ८ अर्ब पुगेको छ।
मुक्तिनाथ विकास बैंकले हाल नेपालका सातै प्रदेशमा फैलिएका १७९ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ। यसका अतिरिक्त बैंकका २२ वटा एटिएम सञ्चालनमा छन्।
वाणिज्य बैंक बन्न आवश्यक राष्ट्रिय स्तरको पहुँच र प्रणालीगत तयारी बैंकले पूरा गरेको छ। मुक्तिनाथ विकास बैंक वाणिज्य बैंकमा स्तरोन्नति भएपछि नेपालमा वाणिज्य बैंकहरुको संख्या २१ पुग्नेछ ।

























