सिबिफिनको अध्यक्षमा प्रचण्ड, महासचिवमा गोयल
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ सर्वसम्मत चयन भएका छन्।
निर्वतमान अध्यक्ष उपेन्द्र पौडेल नबिल बैंकको गत पुस अन्तिम साता सम्पन्न साधारणसभादेखि सञ्चालक समितिबाट अलग भइसकेपछि अध्यक्ष पद रिक्त भएको थियो ।
सिबिफिनको विधान अनुसार कार्यसमितिको पदाधिकारी वा सदस्यहरु निजले प्रतिनिधित्व गर्ने बैंक तथा वित्तीय संस्थाहरुको सञ्चालक समितिबाट बहिर्गमन भएसँगै सिबिफिन कार्यसमितिमा बहाल पद स्वतः समाप्त हुने व्यवस्था रहेको छ ।
सर्वसम्मत रुपमा अध्यक्ष मनोनीत श्रेष्ठ नेपालको बैंकिङ एवं वित्तीय क्षेत्रका एक अग्रणि व्यक्ति हुन् । नेपाली बैंकिङ क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि क्रियाशील रहँदै आएका श्रेष्ठ यसअघि कार्यसमितिको महासचिव पदमा बहाल भएका छन्।
नवनियुक्त अध्यक्ष श्रेष्ठले अध्यक्षको पदभार ग्रहण गर्दै नेपालको अर्थतन्त्रको आधारशिलाको रुपमा रहेको बैंकिङ जस्तो अपरिहार्य एवं संवेदनशील क्षेत्र आज चुनौतीपूर्ण र असुरक्षित बन्दै गएकोमा चिन्ता व्यक्त गरे।
त्यसैगरी सिबिफिनले महासचिवमा एनएमबि बैंकका अध्यक्ष मनोज कुमार गोयल तथा कोषाध्यक्षमा लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाललाई सर्वसम्मत मनोनीत गरेको छ ।





























