निफ्राको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को ऋणपत्रमा आवेदन दिने आज बिहीबार जेठ २२ गते अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको ऋणपत्रमा आवेदन दिन सक्नेछन् । निफ्राले जेठ १८ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
बाँकी २० लाख इकाईमा भने सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमध्ये १ लाख इकाई ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । (निफ्रा) ले ७ वर्ष अवधिको ‘६ प्रतिशत निफ्रा उर्जा ऋणपत्र २०८८–८९” नामको ऋणपत्र निष्कासन गरेको हो । यसमा वार्षिक ६ प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ ।
यसमा एनआइएमबी एस क्यापिटल लिमिटेडलाई ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी दिइएको छ । यस ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।
यस ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयर मार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।