राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको वैशाख ७ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको ‘७ प्रतिशत आरबीबीएल डिबेन्चर २०८८’ ऋणपत्रमा आवेदन दिने आज (वैशाख १२) गते अन्तिम दिन रहेको छ ।
यसअघि पर्याप्त आवेदन नपरेपछि म्याद थप गरी वैशाख २१ गतेसम्म आवेदन दिन पाउने भनिएको थियो । तर पर्याप्त आवेदन परेपछि आजै निष्कासन बन्द हुने बैंकले जनाएको छ ।
बैंकले २ अर्ब ५० करोड रुपियाँबराबरको प्रतिऋणपत्र १००० अंकित दरमा २५ लाख कित्ता ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डबाट चैत १२ गते स्वीकृति पाएको थियो ।
कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १५ लाख कित्ता व्यक्तिगत तवरबाट र ५ प्रतिशत अर्थात् ५० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ९ लाख ५० हजार कित्ता सर्वसाधारणलाई बिक्री खुला गरिएको छ ।
सात वर्षे अवधि तथा वार्षिक ७ प्रतिशत ब्याजदर भएको यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्र निष्कासक तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।