कामना सेवा विकास बैंकले ३५ करोडको सेयर जारी गर्दै
लाभांश दर ९ प्रतिशत

काठमाडौँ । कामना सेवा विकास बैंकले ९ प्रतिशत लाभांश कायम गर्ने गरी अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ ।
बैंकले अंकित मूल्य एक सय रुपैयाँमा ३५ लाख कित्ता अर्थात् ३५ करोड रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ । अग्राधिकार सेयर परिपत्र विधिबाट निष्कासन गर्नका लागि बैंकले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ ।
बैंकको पूरक पुँजी बढाउने उद्देश्यले जारी गर्न लागेको वार्षिक ९% लाभांश दर भएको (असञ्चिति) अग्राधिकार शेयर अविमोच्य अवधि भएका कारण भुक्तानी अवधि तोकिएको छैन र उक्त सेयरहरू परिपत्र विधिबाट निष्कासन गरिने जनाइएको छ ।
उक्त निष्कासन सम्बन्धी सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।