ग्लोबल आइएमई बैंकको नाफा डेढ अर्ब नाघ्यो
काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा यसले २३.३६ प्रतिशतले खुद नाफा वृद्धि गरेको छ ।
यता, बैंकको खुद ब्याज आम्दानी १४.२२ प्रतिशतले घटेर ४ अर्ब ११ करोडमा झरेको छ भने यसको सञ्चालन नाफा १९.४० प्रतिशतले बढेको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेपनि इम्पेयरमेन्ट चार्ज घट्दा र सञ्चालन नाफाका कारण बैंकको खुद नाफा बढ्न पुगेको छ ।
यता, असोज मसान्तसम्म ग्लोबल आइएमईको वितरणयोग्य नाफा १ अर्ब ९१ करोड ६१ लाख रुपैयाँ रहेको छ । यसको खराब कर्जा भने ४.३८ प्रतिशतबाट बढेर ४.६७ प्रतिशत भएको छ । हाल यसको चुक्ता पुँजी ३६ अर्ब १२ करोड रहेको छ भने रिजर्भ कोषमा २४ अर्ब ८९ करोड रुपैयाँ छ ।
बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ०३ पैसाले बढेर १६ रुपैयाँ ७४ पैसा कायम भएको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ७१ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ २० पैसा छ ।






















