नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाको तयारीमा जुट्यो
ठूलो नीतिगत परिवर्तन हुने सम्भावना कम
काठमाडौं । नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाको तयारीमा जुटेको छ । यसका लागि केन्द्रीय बैंकले अहिले आन्तरिक छलफल गरिरहेको छ भने तथ्यांकहरु अध्ययन गरिरहेको छ ।
तथापि, समीक्षाको लागि अर्थतन्त्रको ९ महिनाको तथ्यांक केन्द्रीय बैंकले पर्खिरहेको छ । हालसम्म ९ महिनाको तथ्यांक सार्वजनिक भएको छैन ।
तसर्थ, वैशाख मसान्तसम्म मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक हुने सम्भावना नरहेको केन्द्रीय बैंकका एक अधिकारीले बताए ।
मौद्रिक नीतिको त्रैमासिक समीक्षा हरेक त्रैमास समाप्त भएको ३० दिनभित्र सार्वजनिक गर्ने नियामकीय प्रावधान छ । तर, यो तेस्रो त्रैमासिक समीक्षा नियामकीय प्रावधानअनुरुप सार्वजनिक नहुने लगभग निश्चित भएको छ ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था छ । बैंक तथा वित्तीय संस्थाहरुबाट उत्साहजनकरुपमा कर्जा प्रवाह हुन सकेको छैन ।
कर्जा प्रवाह बढाउने दायित्व केन्द्रीय बैंकसँग छ । तर थप लचिलो नीति लिएर कर्जा प्रवाह बढाउने सोचमा केन्द्रीय बैंक देखिएको छैन ।
‘सहज नीति लिएर कर्जा प्रवाह गर्दा त्यसको असर फेरि भविष्यमा पर्न सक्छ’ ती अधिकारीले भने, ‘कर्जा प्रवाह बढाउनकै लागि केन्द्रीय बैंकले सहज नीति लिँदैन ।’
त्रैमासिक समीक्षामा ठूलो नीतिगत परिवर्तन नभए पनि केही सहजता गर्नेबारे भने छलफल भइरहेको ती अधिकारीको भनाई छ ।