stcnepal long ad
ime life insurance
national life
global ime bank long

‘बैङ्किङ प्रणालीमा समस्या छैन’

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल बैङ्कर्स सङ्घका अध्यक्ष सुनील केसीले नेपालका बैङ्कहरू सबल अवस्थामा रहेको बताउनु भएको छ ।

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले शनिबार बनेपामा आयोजना गरेको एड्भान्स बैङ्किङ तालिम कार्यक्रममा उहाँले बैङ्कहरूसँग पर्याप्त तरल सम्पत्ति रहेकाले कुनै पनि बैङ्क डुब्ने अवस्था नदेखिएको बताउनुभयो ।

बैङ्कहरूसँग सरकारी ऋणपत्रमा गरेको लगानीका साथै अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातसमेत गरी करिब १८ खर्ब तरल सम्पत्ति रहेकाले बैङ्किङ प्रणाली मात्रै नभएर अहिले कुनै पनि बैङ्कमा समस्या नरहेको उहाँको भनाइ थियो ।

“बैङ्कहरूले सरकारी ऋणपत्र र बन्डहरूमै साढे १२ खर्बभन्दा बढी लगानी गरेका छन्,” उहाँले भन्नुभयो, “यसबाहेक सिआरआर र एसएलआर गरेर १७/१८ खर्ब तरल सम्पत्ति छ,” बैङ्कहरूसँग औसतमा निक्षेपको २८ प्रतिशतभन्दा धेरै खुद तरल सम्पत्ति छ ।”

यसबाहेक पाँच लाखसम्मको निक्षेपको बिमा पनि हुने भएको भन्दै पर्याप्त तरलता रहेकाले निक्षेपकर्ता डराउनुपर्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।

सिडी रेसियो र तरल सम्पत्ति मात्रै नभएर नेपालका बैङ्कहरूको खुद निष्क्रिय कर्जा करिब डेढ प्रतिशत मात्रै रहेको र दुई खर्ब १८ अर्ब रुपियाँ खराब कर्जा व्यवस्थापन ९प्रोभिजनिङ० गरेको उहाँले जानकारी दिनुभयो ।

खराब कर्जाबापत बैङ्कहरूले धेरै नै कर्जा नोक्सानी गरिसकेको हुँदा खराब कर्जा बढेको भनेर डराउनुपर्ने अवस्था नरहेको तर, पछिल्लो समय बैङ्कको पैसा तिर्नु हुँदैन भन्ने हल्लाले बैङ्किङ क्षेत्रमा समस्या आउन सक्ने चेतावनी उहाँले दिनुभयो ।

“केही व्यक्तिले बैङ्कबाट लिएको ऋण तिर्नु हुँदैन भनेर सडकबाट आवाज उठाएको अवस्था छ,” उहाँले भन्नुभयो, “कसैले बोलेको भरमा ऋण नतिर्ने प्रवृत्तिले समग्र अर्थतन्त्रमा त्यसको प्रभाव पर्ने देखिन्छ ।”

कार्यक्रममा बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) का अध्यक्ष उपेन्द्र पौड्यालले पछिल्लो समय बैङ्किङ क्षेत्रमाथि केही व्यक्ति र समूहले प्रहार गरिरहेको बताउनुभयो ।

“बैङ्किङ क्षेत्र पारदर्शी छ । पारदर्शी रहेको बैङ्किङ क्षेत्रलाई केही व्यक्ति र समूहले प्रहार गरिरहनु न्यायोचित हुँदैन,” उहाँले भन्नुभयो, “दक्षिण एसियामा नेपालको बैङ्किङ क्षेत्र सबल छ ।

भूकम्प, नाकाबन्दी र कोभिडजस्ता समस्याका समयमा पनि केन्द्रीय बैङ्कले विभिन्न सहजता प्रदान गरेको थियो हामी डराउनु पर्दैन ।”

कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक गुणाकर भट्टले बैङ्किङ क्षेत्र संवेदनशील क्षेत्र रहेको हुँदा कसैले पनि व्यक्तिलक्षित भई सिस्टममाथि प्रहार गर्न नहुने धारणा राख्नुभयोे ।

IME Lifesidebar
kumari