सुजुकीको सबैभन्दा सानो इलेक्ट्रिक कार ई–स्काई लन्च
सुजुकीले जापानमा आफ्नो नयाँ इलेक्ट्रिक केई कार ई-स्काई लन्च गरेको छ। यसमा धेरै प्रकारका फिचर उपलब्ध गराएको छ । यसको डिजाइन र मूल्यले पनि यसलाई सहरी यात्राका लागि उपयोगी इलेक्ट्रिक कारका रूपमा प्रस्तुत गरेको छ।
सो इलेक्ट्रिक कार नयाँ हार्टटेक ई प्लेटफर्ममा आधारित छ, जुन विशेषगरी इलेक्ट्रिक केई कारका लागि तयार पारिएको हो। सुजुकीका अनुसार यसको इनर्जी एफिशियन्सी ९७ वाट आवर प्रति किलोमिटर रहेको छ।
सुजुकी ई-स्काईमा २६ किलोवाट आवर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री प्याक प्रयोग गरिएको छ। यसले फुल चार्जमा ३१० किलोमिटरसम्म रेन्ज प्रदान गर्छ।
जापानी बजारमा सुजुकी ई-स्काई ए र एक्स गरी २ भेरिएन्टमा उपलब्ध हुनेछ । यसको ए भेरिएन्टको मूल्य १२ लाख ९९ हजार भारु र एक्स भेरिएन्टको मूल्य १७ लाख ९ हजार भारु तोकिएको छ।
जापानमा यसको बिक्री नोभेम्बर १६ देखि सुरु भइसकेको छ । कम्पनीले प्रतिमहिना करिब एक हजार युनिट बिक्री गर्ने लक्ष्य राखेको छ। सुजुकीले सन् २०२७ सम्ममा बेलायत र युरोपेली बजारमा समेत सो कार उपलब्ध गराउने योजना बनाएको छ।
सुजुकीले भारतीय बजारमा ई-स्काई लन्च गर्ने विषयमा हालसम्म आधिकारिक घोषणा गरेको छैन। यद्यपि, भारतमा साना इलेक्ट्रिक कारको माग र सम्भावनालाई ध्यानमा राख्दै कम्पनीले भविष्यमा यस सेगमेन्टमा नयाँ मोडल ल्याउन सक्ने अनुमान गरिएको छ।
ई-स्काईको लम्बाइ करिब ३३९५ एमएम रहेको छ। भारतीय बजार सो गाडी लन्च भएमा यसको आकार, ब्याट्री क्षमता र अन्य सुविधामा परिवर्तन हुन सक्ने अनुमान गरिएको छ।
भारतीय संस्करणमा ३० देखि ३५ किलोवाट आवर क्षमताको ठूलो ब्याट्री प्रयोग हुन सक्ने सम्भावना रहेको छ । भारतमा सो गाडी लन्च भएमा यसले टाटा टियागो ईभी र एमजी कमेट ईभीजस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ ।




















