सरकारले ६ वर्षका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउँदै
काठमाडौं । सरकारले आन्तरिक स्रोतबाट थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको छ । अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ६ वर्ष अवधिको विकास ऋणपत्र बिक्री गरेर उक्त रकम जुटाउन लागेको हो ।
कार्यालयका अनुसार ‘विकास ऋणपत्र-२०८९’ बोलकबोल प्रक्रियामार्फत बिक्री गरिनेछ । ऋणपत्रका लागि मंसिर ९ गते बोलकबोल हुने र मंसिर १० गते निष्कासन गरिने कार्यालयले जनाएको छ ।
ऋणपत्र खरिद गर्न इच्छुक लगानीकर्ताले बोलकबोल प्रक्रियामा सहभागी हुन सक्नेछन् । यसमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकले लगानी गर्न पाउनेछन् ।
सरकारले सार्वजनिक खर्च व्यवस्थापन तथा वित्तीय आवश्यकता पूरा गर्न विकास ऋणपत्रमार्फत आन्तरिक बजारबाट ऋण उठाउँदै आएको छ । यस्तो ऋणपत्रमा लगानीकर्ताले निश्चित अवधिका लागि सरकारलाई रकम उपलब्ध गराउँछन् । सरकारले भने तोकिएको सर्तअनुसार ऋणको साँवा तथा ब्याज भुक्तानी गर्छ ।


























