इन्ट्रि लेभलको नयाँ इलेक्ट्रिक स्कुटर टीभीएस ल्याउँदै

टीभीएसले आफ्नो इलेक्ट्रिक टु–ह्विलर लाइनअपमा नयाँ स्कुटर थप्ने योजना बनाएको छ । सो नयाँ स्कुटर हाल उपलब्ध ब्रान्डको आईक्युब भन्दा सानो र सस्तो हुने जनाइएको छ ।
आगामी फेस्टिभल सिजनमा लन्च हुने अपेक्षा गरिएको सो नयाँ स्कुटरको नाम र थप विवरणहरु भने कम्पनीले सार्बजनिक गरिसकेको छैन ।
नयाँ स्कुटर मूल्यका हिसावले किफायती र सरल डिजाइनमा उपलब्ध हुने अनुमान गरिएको छ । साथै यसमा आइक्युबको तुलनामा कम सुविधाहरू हुने अपेक्षा गरिएको छ ।
मूल्य कम गर्न टीभीएसले हब–माउन्ट गरिएको इलेक्ट्रिक मोटर र सानो ब्याट्री प्याक रोज्न सक्ने बताइएको छ । सो नयाँ स्कुटर ९० हजारदेखि १ लाख भारुको बिचमा आउने अनुमान गरिएको छ ।
टीभीएसले हाल बिक्री गर्दै आएको आईक्युबको सबैभन्दा सस्तो भेरिएन्टमा २.२ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । जसले सिंगल चार्जमा ७५ किलोमिटर रेन्ज प्रदान गर्दछ ।
टप स्पेक भेरिएनटमा भने ५.१ किलोवाट आवर क्षमताको ब्याट्री र १५० किलोमिटरको रेन्ज छ । यसको मूल्य १ लाख ८५ हजार भारु पर्छ ।