नाइमा गठनको औपचारिक घोषणा आज हुँदै

काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) गठनको औपचारिक घोषणा आज हुने भएको छ । गत फागुनमै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विधिवत दर्ता भएको यो संस्थाको औपचारिक शुभारम्भ आज हुन लागेको हो ।
अटोमोबाइल ब्राण्डका चारपाँग्रे र दुईपाँग्रे सवारीको आयातकर्ता र उत्पादकहरु आबद्ध रहने गरी नाइमाको परिकल्पना भएको हो ।
संस्थामा टोयोटा गाडीको आधिकारिक वितरक युनाईटेड ट्रेडर्स सिन्डिकेटकी प्रबन्ध निर्देशक रितु सिंह बैद्य अध्यक्ष छिन् ।
आजकै कार्यक्रमबाट नाइमा स्थापनाको उद्देश्य प्रस्तुत गर्ने तयारी गरिएको छ । साथै, पुरानो संस्थाका रुपमा नाडा क्रियाशिल रहँदै गर्दा नाइमा किन आवश्यक पर्यो र किना दर्ता भयो भनेर उठेका प्रश्नहरुको जवाफ समेत दिइनेछ ।
व्यवस्थित सचिवालय सहित अटोमोबाइल क्षेत्रमा काम गर्ने गरी गठन भएको नाइमाले संस्थालाई क्रियाशील बनाउन तत्कालीन र दीर्घकालीन रणनीतिक योजनाहरु सहितको रोडम्याप नै तय गरेको छ ।