रिभर मोबिलिटीको पहिलो अन्तर्राष्ट्रिय स्टोर नेपालमा
काठमाडौं । भारतीय विद्युतीय स्कुटर निर्माता कम्पनी रिभर मोबिलिटीले नेपालमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय स्टोर सञ्चालनमा ल्याएको छ । कम्पनीले नेपाली बजारमा व्यवसाय विस्तार गर्ने क्रममा विशाल ग्रुपसँगको साझेदारीमा काठमाडौंको नक्सालमा स्टोर खोलेको हो ।
नक्सालस्थित नारायण चौरमा रहेको स्टोरबाट ग्राहकले स्कुटरको टेस्ट राइड, बुकिङ तथा एसेसरिज खरिद गर्न सक्नेछन् ।
कम्पनीले बिक्रीपछिको सेवा उपलब्ध गराउन भीमसेनस्थानस्थित भीजी सुजुकी सर्भिस सेन्टरमा छुट्टै सर्भिस सेन्टरसमेत स्थापना गरेको छ ।
रिभर मोबिलिटीले गत महिना काठमाडौंमा आयोजित नाइमा एक्स्पो २०२६ मार्फत आफ्नो विद्युतीय स्कुटर ‘इन्डी’ नेपाली बजारमा सार्वजनिक गरेको थियो । कम्पनीका अनुसार स्कुटरप्रति ग्राहकको चासो बढ्दै गएपछि १५० भन्दा बढी प्रि–अर्डर प्राप्त भएका छन् ।
स्टोर उद्घाटनका अवसरमा ग्राहकलाई स्कुटर हस्तान्तरणसमेत गरिएको कम्पनीले जनाएको छ । रिभर ‘इन्डी’को नेपालमा एक्स–शोरुम मूल्य ३ लाख ७० हजार रुपैयाँ तोकिएको छ ।
कम्पनीले सन् २०२८ मार्चसम्म नेपालका सबै प्रदेशमा स्टोर विस्तार गर्ने लक्ष्य लिएको छ । विशाल ग्रुपसँगको सहकार्यमा प्रमुख सहरहरूमा बिक्री तथा सर्भिस नेटवर्क विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।
‘इन्डी’मा ४ किलोवाट आवर क्षमताको ब्याट्री छ । कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्ज गर्दा आईडीसी मापदण्डअनुसार १६० किलोमिटरसम्म यात्रा गर्न सक्छ । स्कुटरको अधिकतम गति प्रतिघण्टा ९० किलोमिटर छ । १७७ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, १४ इन्चका पाङ्ग्रा र ५५ लिटर क्षमताको लक गर्न मिल्ने स्टोरेज यसका प्रमुख विशेषता हुन् ।
नेपाल प्रवेशलाई कम्पनीको अन्तर्राष्ट्रिय विस्तारको महत्त्वपूर्ण चरणका रूपमा उल्लेख गर्दै रिभर मोबिलिटीका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अरविन्द मणिले ग्राहकको विश्वास र सेवाको गुणस्तरलाई प्राथमिकता दिइएको बताए ।
विशाल ग्रुपका निर्देशक निकुञ्ज अग्रवालले पनि कम्पनीको अटोमोटिभ क्षेत्रको अनुभव र देशव्यापी सञ्जालमार्फत ग्राहकलाई सहज सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।






















