चार्जिङ स्टेशनसँगै वर्कसप पनि हुने, नौलो अवधारणा ल्याउँदै हुन्डाई नेपाल
काठमाडौं । नेपाली बजारमा हुन्डाई क्रेटा ईभी भित्रिने तयारीमा छ । नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आगामी मा हुन्डाई क्रेटा ईभी सार्वजनिक गर्ने तयारी गरेको छ ।
भारतमा हुन्डाई क्रेटा ईभी सार्वजनिक भइसकेको छ । नेपाली ग्राहकले पनि यो ईभीप्रति उत्सुकता जनाइरुहेका छन् । यो अवस्थामा लक्ष्मी इन्टरकन्टिनेन्टलले भने आवश्यक पूर्वाधारका साथै नेपालमै नौलो अवधारणाको रुपमा चार्जिङ स्टेशनसँगै वर्कसप समेत हुने चार्जसपको अवधारणा ल्याएको छ । यस प्रकारका चार्जसप निर्माण गर्ने कार्य भइरहेको छ ।
ग्राहकहरुलाई चार्जिङ स्टेशनसँगै सर्भिसको पनि सुविधा एकैठाउँमा दिन कम्पनीले ‘चार्ज सप’ निर्माण गर्न लागेको छ । चार्ज सपमा गाडी चार्ज गर्ने स्थानमा सर्भिसको पनि सुविधा पाइन्छ । यो नेपालमा नै नौलो भएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार महेन्द्र राजमार्गमा तीन वटा, वीपी राजमार्गमा एउटा र सिद्धार्थ राजमार्गमा एउटा गरि देशभर ५ स्थानमा चार्ज सप बनाउन पूर्वाधार निर्माणको काम भइरहेको छ । धार्के, चुम्लिङटार, डुम्रेका साथै बिपी हाइवे र पोखराबाट बुटवल जाने सिद्धार्थ हाइवेमा पनि चार्जिङ सप बन्ने छ ।
चार्ज सपमा गुणस्तरीय चार्जिङ स्टेशनका साथै वर्कसपमा हुने सर्भिस, टुल्स र पार्ट्स तथा वेटिङ लाउन्ज लगायतका विभिन्न सुविधा हुनेछ ।
यस्तै, कम्पनीले एसी र डीसी चार्जिङ स्टेशनहरू पनि बिस्तार गर्न लागेको छ । हुन्डाईको एसी चार्जिङ स्टेशन हालसम्म ४५ वटा स्थानमा रहेका छन् । अब थप ५ स्थानमा एसी चार्जिङ स्टेशन स्थापना भएपछि हुन्डाईको एसी चार्जिङ स्टेशनको संख्या ५० पुग्ने कम्पनीले जानकारी दिएको छ ।
हाइवेका मुख्य २५ स्थानमा ४० देखि १०० किलोवाटका जीबीटी तथा सीसीएस चार्जर निर्माण प्रक्रिया अगाडि बढाइएको कम्पनीले जनाएको छ । सुरुमा ५ स्थानमा फास्ट चार्जरसँगै सानो र चुस्त सर्भिस सेन्टर बनाउन लागेको लक्ष्मी इन्टरकन्टिनेन्टलका जनरल म्यानेजर दीपक थपलियाले जानकारी दिए ।