बजाजले पल्सर आरएस २०० को २०२५ संस्करण सार्वजनिक

बजाजले पल्सर आरएस २०० को २०२५ संस्करण सार्वजनिक गरेको छ । केही फिचरमात्रै अपडेट गरेर ल्याइएको सो बाइकको मूल्य १ लाख ८४ हजार भारु निर्धारण गरिएको छ ।
बाइकको अगाडि एलईडी डीआरएल सहितको डुअल प्रोजेक्टर हेडल्याम्प र एकीकृत एलईडी टेललाइटसहित पुनः डिजाइन गरिएको टेल सेक्सन पाउन सकिन्छ । नयाँ पल्सर आरएस २०० मा केही नयाँ फिचर भने थप गरिएको छ ।
बाइकमा अब ब्लुटुथ–इनेवल्ड एलसिडी इन्स्ट्रयुमेन्ट कन्सोलको साथ टर्न–बाई–टर्न नेभिगेसन र कलरम्यासेज अलर्ट जस्ता फिचर उपलब्ध हुने जनाइएको छ । इन्जिन भने उहि पुरानै १९९ सिसी सिंगल–सिलिन्डर जडान गरिएको छ ।
उक्त इन्जिनले २४।१३ बिएचपी पावर र १८।७४ एनएम टर्क जेनेरेट गर्दछ । इन्जिनलाई असिस्ट र स्लिपर क्लच मार्फत ६ स्पीड गियरबक्ससँग जोडिएको छ । यसमा रोड, रेन र अफरोड गरी कुल तिनवटा राइडिङ मोड राखिएको छ ।
बाइकको अगाडि टेलिस्कोपिक फोर्क र पछाडि मोनो–शक जडान गरिएको छ । दुबै चक्कामा डिस्क ब्रेक राखिएको यस नयाँ मोडलमा डुअल–च्यानल एबिएस समेत पाउन सकिन्छ । यो ग्लोसी रेसिङ रेड, पर्ल मेटालिक ह्वाइट र एक्टिभ साटिन ब्ल्याक कलरमा उपलब्ध हुनेछ ।
भारतिय बजारमा निकै पहिले लन्च भएको यो मोटरसाइकल नेपाली बजारमा भने आउन बाँकी नै छ । नयाँ मोडललाई संभवत यसै वर्ष नेपाल ल्याउन हंसराज हुलासचन्द एण्ड कम्पनीले पहल गर्ने अनुमान गर्न सकिन्छ ।