हिसानले भर्ना, परीक्षा, सहुलियतलगायत माग राखी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपप्रधान तथा रक्षा मन्त्री तथा कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक, अर्थ मन्त्री र शिक्षा मन्त्रीलाई मंगलबार ध्यानाकर्षण पत्र बुझाएको हो ।
कोरोना संक्रमणको त्रासबाट मानसिक एवं शारीरिक रूपबाट विद्यार्थीलाई मुक्त गर्न, अभिभावक र नागरिक समाजलाई सचेत र आश्वस्त तुल्याउन, विद्यालय तथा कलेजहरूलाई यथाशीघ्र छिटो खुल्ने वातावरण बनाई पठनपाठन तथा परीक्षालाई सुचारु गर्न हिसानले ध्यानाकर्षण गराएको छ । कोरोनाको खासै असर नपरेको क्षेत्रमा तुरुन्त र अन्य क्षेत्रमा क्रमशः सुरक्षित र व्यवस्थित तरिकाले खोल्ने वातावरण बनाउन माग गरेको छ ।
लामो समयसम्म शैक्षिक गतिविधि ठप्प रहेकाले दीर्घकालीन असर पर्न नदिन र न्यायोचित समाधानका लागि सरकारलाई ध्यानाकर्षण गराएको हिसानका महासचिव लोकबहादुर भण्डारीले बताए ।
भर्ना प्रक्रियालाई सतर्कतापूर्वक सुरक्षित विधि अपनाई सरल तरिकाले तुरुन्त अगाडि बढाउन र पाठ्यपुस्तक सहज रूपमा विद्यालयमा वितरणको व्यवस्था गर्नुपर्नेबारे ध्यानाकर्षण गराएको छ ।


























