काठमाडौँको टोखाका कोरोना संक्रमित एक जना ज्योतिषी, अर्का किराना पसले
आर्थिक सञ्जाल
काठमाडौं । काठमाडौँको टोखामा एक जना ज्योतिषी र एकजना किराना पसलेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार टोखा नगरपालिका– ६ धनेश्वरका ४१ बर्षिय पुरुष ज्योतिषीलाई संक्रमण पुष्टि भएको हो । त्यस्तै टोखा ६ का २७ बर्षिय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
उनले ग्राण्डि अस्पताल आसपासको क्षेत्रमा किराना पसल सञ्चालन गर्दै आएका थिए । उनले कोरोना संक्रमणवाट मृत्यु भएकी सिन्धुपाल्चोक कि सुत्केरीसँगै शिक्षण अस्पतालमा उपचार गराएको पनि खुलेको छ । सुत्केरीको जेठ ४ गते निधन भएपछि गरिएको कन्ट्रयाक ट्रेसिङका क्रममा थप दुईजनामा संक्रमण पुष्टि भएको हो ।
टोखा नगरपालिकाले तरकारी, औषधि, किराना पसल सञ्चालन गर्ने तथा जनप्रतिनिधि गरेर तीन सय छ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको थियो । बूढानीलकण्ठ नगरपालिकामा भेटिएका कोरोना संक्रमित ३७ बर्षिय पुरुष ‘निजी एम्बुलेन्स’ सञ्चालक भएको खुलेको छ ।
उनी नगरपालिकाको स्वकृतिमा आफ्नो निजी गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गरेर अप्ठ्यारोमा परेकाहरूलाई अस्पताल पुर्याउने कार्यमा सग्लन थिए । काठमाडौंमा संक्रमण पुष्टि भएका तीनैजनालाई टेकु अस्पतालमा भर्ना गर्ने तयारी गरिएको छ ।
अहिलेसम्म काठमाडौंमा १३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये चार जना निको भएर घर फर्केका छन । भक्तपुरमा चारजना संक्रमित भएका चारमध्ये दुई निको भएर घर फर्केका छन । ललितपुरमा एक जनामा संक्रमण भेटिएको छ ।


























