नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाको तयारीमा
कहिले होला सार्वजनिक ?
Nepal Rastra Bank
काठमाडौं । नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाको तयारीमा जुटेको छ । यसका लागि केन्द्रीय बैंकले अहिले आन्तरिक छलफल गरिरहेको छ भने आठ महिनाको तथ्यांकहरु अध्ययन गरिरहेको छ । तेस्रो त्रैमासिक समीक्षाको लागि केन्द्रीय बैंकले केही दिनपछि सरोकारवालासँग सुझाव माग्न सुरु गर्नेछ ।
केन्द्रीय बैंकको प्रावधानअनुसार त्रैमासिक समीक्षाको लागि हरेक त्रैमास समाप्त भएको १५ दिनभित्र मौद्रिक नीतिका लागि आवश्यक राय सुझाव माग गर्न पत्राचार गर्नुपर्छ । सोहीअनुसार पत्राचार गर्ने केन्द्रीय बैंकका सह प्रवक्ता नारायण पोखरेल बताउँछन् ।
प्राप्त रायसुझाव माथि आवश्यकता अनुसार त्रैमासिक समीक्षाको लागि हरेक त्रैमास समाप्त भएको १५ दिनपछि अन्तर–विभागीय सुझाव समन्वय समितिमा छलफल गरिनेछ ।
अन्तर विभागीय सुझाव समन्वय समितिमा छलफल सम्पन्न भएपछि मौद्रिक नीतिको मस्यौदा उपर व्यवस्थापन समितिमा छलफल प्रारम्भ गरिनेछ ।
सञ्चालक समितिबाट पारित भएपछि सामान्यतः वार्षिक मौद्रिक नीतिको त्रैमासिक समीक्षा हरेक त्रैमास समाप्त भएको ३० दिनभित्र सार्वजनिक गर्ने कार्यविधिमा उल्लेख छ ।
सोहीअनुसार मौद्रिक नीति वैशाख मसान्तभन्दा अगाडी सार्वजनिक हुने पोखरेलको भनाई छ । आर्थिक सूचकहरु सबल बन्दै गएकाले सोहीअनुसार केन्द्रीय बैंकले नीति लिने उनले बताए ।






















