भारतमा उत्पादित आँखाको औषधि प्रयोग नगर्न अमेरिकाको चेतावनी
अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले भारतमा बनेको आँखाको ड्रप प्रयोग नगर्न चेतावनी दिएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकामा संक्रमण, अन्धोपन र अन्य जटिलता भएका कम्तीमा ५५ जनामा यो ड्रप जिम्मेवार छ र एक जनाको मृत्युसमेत भएको छ।
एफडीएले बिहीबार भारतको ग्लोबल फार्मा हेल्थकेयर प्रालिले उत्पादन गरेको आर्टिफिसियल टियर्स आई ड्रपले ब्याक्टेरियाको संक्रमण हुने र कम्पनीले उत्पादन मापदण्डको उल्लंघन गरेको बताएको छ।
चेन्नईस्थित कम्पनी ग्लोबल फार्मा हेल्थकेयरले बुधबार संयुक्त राज्य अमेरिकामा उपभोक्ता स्तरमा आँखा ड्रपको बाँकी स्टकको बारेमा स्वैच्छिक फिर्ता बोलाएको छ। एज्रिकेयर एलएलसी र डेलसाम फार्माले संयुक्त राज्यमा यो आईड्रप वितरण गर्दछन् ।
एक भारतीय सरकारी स्रोतले रोयटर्सलाई भने कि केन्द्रीय र राज्य औषधि नियामकहरूले ग्लोबल फार्मा हेल्थकेयरको चेन्नई प्लान्टमा टोली पठाएको छ। गत वर्ष गाम्बियामा यस्तै एउटा भारतीय कफ सिरपबाट ७० बालबालिकाको मृत्यु भएको थियो ।























