इन्धनको मूल्य बढेर आयो
पेट्रोलमा प्रतिलिटर ६० पैसा, डिजेलमा प्रतिलिटर पाँच रुपियाँ ७६ पैसा मूल्य बढे
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढेर आएको जनाएको छ ।इन्डियन आयल कर्पोरेसन (आईओसी) ले मङ्गलबार पठाएको नयाँ मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर ६० पैसा, डिजेलमा प्रतिलिटर पाँच रुपियाँ ७६ पैसा मूल्य बढेर आएको छ ।
यस्तै मट्टीतेल प्रतिलिटरमा चार रुपियाँ, हवाई इन्धनमा पाँच रुपियाँ बढेर आएको निगमले जनाएको छ ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएपछि नेपालमा पनि मूल्य बढेर आएको हो ।
यसअघि चार पटक मूल्य घटेर आए पनि निगमले घाटा देखाएर मूल्य घटाएको थिएन । निगमलाई खाना पकाउने ग्यास र डिजेलमा घाटा भए पनि अरूमा नाफा रहेको छ ।
मूल्य बढेर आए पनि हालका लागि यथावत् राखिने निगमले जनाएको छ । आईओसीले प्रत्येक महिनाको एक र १६ तारिखमा नयाँ मूल्य पठाउने गर्छ ।























