stcnepal long ad
ime life insurance
global ime bank long

बन्दाबन्दीमा पनि पूर्वाधार निर्माण

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल वैशाख ४, २०७७ बिहीबार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलिन नदिन सुरु गरिएको बन्दाबन्दीका बीच पनि पूर्वाधार निर्माणको कामलाई निरन्तरता दिइएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सामाजिक दूरी लगायतका सुरक्षा मापदण्ड पूरा गर्दै सडक र पुलसँग सम्बन्धित डेढ सयभन्दा बढी आयोजनाको काम अगाडि बढाइएको सडक विभागले जनाएको छ । विभागका महानिर्देशक केशवकुमार शर्माले भन्नुभयो, “कोरोना महामारी नभएको भए अहिले मुलुकभरि तीन हजार आयोजनाको काम तीव्र गतिमा भइरहेको हुन्थ्यो ।”
कोरोना सङ्क्रमण फैलिन नदिन सरकारबाट भएका निर्देशनहरूलाई पूर्ण पालना गर्दै अहिले मुलुकभरि सडक र पुलसँग सम्बन्धित डेढ सय आयोजनाको काम सुरु गरिएको छ ।

शर्माले भन्नुभयो, “काममा खटिने जनशक्तिको स्वास्थ्यको पूर्णरूपमा ख्याल गर्दै काम अगाडि बढाइएको छ ।” डेढ सय आयोजनामध्ये साठीवटा पुल र बाँकी सडक रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले काम गरिने ठाउँमा निर्माण सामग्री र जनशक्ति उपलब्ध भएका आयोजनाहरूलाई नै प्राथमिकतामा राखी काम अगाडि बढाइएको छ, अहिले काम भइरहेका आयोजनाहरूमा करिब तीन हजार जनशक्ति विभिन्न आयोजनामा संलग्न छन् ।” बन्दाबन्दी सुरु हुनुअघि करिब ३० हजार जनशक्ति सडक र पुल निर्माणमा कार्यरत थिए ।

कुन कुन ठाउँमा काम जारी ?
सडक विभागका अनुसार नारायणगढ–मुग्लिन सडक खण्डको जलवीरे पुल, टाँडी खोला पुल, धादिङ र नुवाकोट जोड्ने कोल्पु खोला पुल, गल्छी–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक खण्डका पुलहरूको काम भइरहेका छन् । त्यसैगरी नुवाकोटमा त्रिशूली नदी पुल, धादिङस्थित त्रिशूली नदीको पुल, जुम्लामा घट्टे खोला पुल, डोटीमा रडुवा खोला पुल, सेती खोला पुल, तामाकोसी नदी पुल निर्माणको काम भइरहेका छन् । त्यसैगरी पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लम्की–अत्तरिया खण्ड, त्रिभुवन राजमार्ग अन्तर्गत हेटौँडा–भैँसे–लामिडाँडा खण्ड, कोसी राजमार्ग अन्तर्गत देउराली–मुढे खण्ड, कोसी करिडोरको खाँदबारी खण्डसहित कान्ति लोकपथमा काम भइरहेको विभागले जनाएको छ ।

निर्माण अनुमति माग
यसैबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बन्दाबन्दीका कारण काम अवरोध भएका केही सडक र सुरुङ मार्गको काम अगाडि बढाउन अनुमति माग गरिएको जानकारी महानिर्देशक शर्माले दिनुभयो ।
उहाँले भन्नुभयो, “बन्दाबन्दीकै कारण अवरोध भएका ६३ वटा पुलसहित केही सडक र सुरुङ मार्गको काम सुरु गर्न कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिसँग औपचारिक रूपमै अनुमति माग गरिएको छ, अनुमति आउनेबित्तिकै सम्बन्धित जिल्ला प्रशासन कार्यालयको समन्वयमा काम अगाडि बढाइने छ । ”
उहाँका अनुसार मुलुकभरि विभिन्न ६० वटा पुल, राजधानीमा चाबहिल–साँखु सडक खण्डका साथै थानकोट–नौबिसे र टोखा–छहरे सुरुङ मार्गको निर्माण कार्यलाई अगाडि बढाउन सो समितिसँग अनुमति माग गरिएको हो । त्यसैगरी मदन भण्डारी र मध्य पहाडी राजमार्गका विभिन्न खण्डका साथै काठमाडौँ उपत्यकामा कालोपत्रे (ओभर–ले) गर्न बाँकी रहेका सडकहरूको काम अगाडि बढाउन अनुमति माग गरिएको छ । उपत्यकामा कुल ८० किलोमिटर कालोपत्रे गर्नुपर्नेमा अहिलेसम्म ५५ किलोमिटरको काम सम्पन्न भइसकेका छन् ।  आजको गोरखापत्र दैनिकबाट

prabhu mahalaxmi
kumari