म्यानचेष्टर युनाइटेड च्याम्पियन्स लिगको प्रि–क्वाटर फाइनलमा पराजित
इङ्लिस क्लब म्यानचेष्टर युनाइटेड युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटर फाइनलमा पराजित हुन पुगेको छ । घरेलु मैदान ओल्ड ट्राफोल्डमा युनाइटेड स्पेनिस क्लब एट्लेटीको मड्रिडसँगको दोस्रो लेगमा १–० गोलले पराजित भएको हो ।
पहिलो लेग १–१ गोलको बराबरीमा खेलेको युनाइटेड समग्रमा २(१ गोलको हार व्यहोर्दै च्याम्पियन्स लिगको अन्तिम सोह्रबाटै बाहिरिएको छ ।
आज बिहान सम्पन्न खेलको पहिलो हाफको ४१औं मिनेटमा ब्राजिलियन डिफेन्डर रेनान लोडीले एन्टोनी ग्रिजमनको क्रसलाई हेडरमार्फत एक मात्र निर्णायक गोल गरेका थिए ।
युनाइटेडले बल पोजिसनमा अधिकांश समय पकड जमाएपनि गोल गर्न भने सकेन ।
त्यसैगरी आजै सम्पन्न अर्को खेलमा पोर्चुगिज क्लब बेनफिकाले अजाक्सामाथि जीत निकाल्दै च्याम्पियन्स लिगको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
पहिलो लेग २–२ गोलको बराबरी खेलेको बेनफिकाले आजको दोस्रो लेगमा अजाक्सलाई १–० गोलले पराजित गर्दै समग्रमा ३–२ गोलले अन्तिम आठमा आफ्नो स्थान पक्का बनाएको हो ।

























