stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रतिक्रियावादी राष्ट्रवाद र प्रगतिशिल अन्तराष्ट्रियतावाद 

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १५, २०७६ शनिबार

रवीन्द श्रेष्ठ  (राजनीतिक विश्लेषक)

कोरोना (कोभिड१९) ले विश्व युद्ध शुरुवात गरिसकेको वेला चीनवाट केही राम्रा शिक्षाहरु अवश्य पनि ग्रहण गर्न पर्दछ ।
तर चीनले केही गम्भीर गल्तिहरु पनि गरेको छ, त्यसलाई अरु देशले अपनाउनु कदापि हुँदैन । चिनियाँ शासकहरुले कोरोनाको शुरुवाती चरणमा गरेको वेवास्ता, लापरवाही, यसको सम्भावित खतरा बारे सचेत गराउने डाक्टरलाई गरेको तानाशाही व्यवहार आदिबाट विश्वका र नेपालका वर्तमान शासकहरुले पनि सिक्न पर्ने हो । तर युरोप अमेरिकाका शासकहरुले सोही गल्तिहरुलाई दोहोयाएकोले अहिले समस्याले विकराल रुप लिइरहेको छ र अनाहकमा निरपराध जनताको ज्यान गैररहेको छ ।

नेपालको नेकपा सरकारले अझै पनि गम्भीरता साथ र तीब्रता साथ कोरोना महामारी विरुद्ध लजिष्टिक्सको तयारी नगरेको, स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु र सम्वद्धहरुलाई सुरक्षा सामाग्री जुटाइ दिन ढिलाइ गरेको, निजी अस्पतालहरुलाइ उपचारमा संलग्न गराउन कडाइ नगरेको, श्रमिक जनतालाई राहत प्याकेज ल्याउन ढिलाइ गरिरहेको, दिर्घकालीन योजना बनाउन नसकेको आदि गुनासाहरु अहिले व्याप्त छन् । बाघले घिच्याउन थालेपछि चिच्याएर फाइदा हुन्न भन्ने जनताको आवाज जायज छन् ।
चीनमा कोरोना फैलिएपछि अन्य देशले चीनबाट आउने हवाइ तथा स्थल मार्ग बन्द गर्न थाल्दा चिनियाँ शासकहरुले तीब्र विरोध गर्दै चीनलाई एक्ल्याउन खोजेको आरोप लगाएको थियो र नेपाल जस्ता साना देशहरुलाइ त्यसो नगर्न दवाव दिएको थियो ।
तर अहिले भने चीनले विदेशी यात्रीहरुलाई चीनमा आउन प्रतिवन्ध लगाएको छ ।

चीनको यो दोहोरो मापदण्डले तथा चीन वाहिर जानेहरुलाई पनि समय मै प्रतिवन्ध नलगाएकोले यो समस्या विश्वव्यापी हुन गयो । अहिले सबै जसो देशका शासकहरुले बाहिरवाट आफ्नो देशमा आउनेहरुलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ ।
तर आफ्नो देशवाट वाहिर जानेहरुलाई भने क्वारेन्टाइनमा राखेर कोरोना नभएको प्रमाणित गरेर पठाउने गरेको छैन । यो भनेको प्रतिक्रियावादी राष्ट्रवादको उदाहरण हो ।

अहिले चाहिएको प्रगतिशील अन्तराष्ट्रियतावाद हो, प्रतिक्रियावादी राष्ट्रवाद होइन । आफु भलो त जगत भलो, जसरी भएपनि आफु वाँचौ भन्ने पूँजीवादी विचारधारावाट मात्र कोरोना विरुद्ध लड्न सकिन्न भन्ने प्रष्ट भैसकेको छ । जगत भलो त आफु भलो, संसार वाँचे आफु पनि वाँच्न सकिन्छ भन्ने साम्यवादी विचारधाराको महान हतियारले मात्र कोरोना महामारीहरु विरुद्ध विजय पाउन सकिने स्पष्ट देखिंदैछ ।

कुनै एक देशमा, एक शहरमा, एक गाउँमा , एक व्यक्तिमा कोरोना भाइरस रहे सम्म कोरोना भाइरसको यस्तो महामारी फेरि आउने कुरा वैज्ञानिक यथार्थ हो । सबै मिलेर अन्तराष्ट्रियतावादी सोच र योजना अनुसार यस महामारीका विरुद्ध युद्ध गर्नु अहिलेको आवश्यकता हो ।

यस महामारीले पूँजीवादी विचारधारा, पूँजीवादी स्वास्थ्य व्यवस्था, पूँजीवादी अर्थ व्यवस्था, पूँजीवादी राजनैतिक व्यवस्थाको सीमा, प्रतिक्रियावादी स्वरुप र महामारी लगायत वहुसंख्यक जनताका गम्भीर समस्याहरुका विरुद्ध लड्न सक्ने असक्षमता उजागर गरेको छ ।

prabhu mahalaxmi
kumari