सप्तकोशी बैंकका सिईओ सुवेदी सहित तीन अधिकारी पक्राउ
विराटनगर । सप्तकोशी डेभलपमेन्ट बैंक लि.को १५ करोड ७० लाख घोटला प्रकरणमा बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) नविन सुवेदी पक्राउ परेका छन् ।
सीईओ सुवेदीलाई आज पुस १४ गते बुधबार साँझ मोरङ जिल्ला प्रहरीले पक्राउ गरेको छ । उनीसँगै अधिकृत अमित थापा मगर र बैंकका लेखा प्रमुख देवीप्रसाद भण्डारीलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।
बैंकको रेमिटेन्सको करिव १६ करोड रकम हिनामिना गरेको आरोप उनीहहरुलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले बताएका छन् ।
बैंकबाट गायव रकममध्ये अधिकांश रकम सीईओकै आफन्तको खातामा रहेको पाइएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बैंकको नाफा बापतको १६ करोड रुपैयाँ आफन्तको नाममा बैंककै कर्मचारीले निकालेको खुलेको स्रोतले जनाएको छ ।
विराटनगरस्थित कर्पोरेट कार्यालयमा जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख रहेका हिमाल भट्टराई रकम हिनामिना गरेको आरोपमा यस अघिनै पक्राउ परिसकेका छन् ।
उनका आफन्तले भने यस प्रकरणमा भट्टराईको कुनै दोष नरहेको र सबै दोष सिईओ सुवेदी माथि लगाउदै दुई दिन अघि पत्रकार सम्मेलन गरि बताएका थिए।
सिईओ नविन सुवेदीकी ठूलो बुवाकी छोरी झापा गौरादहकी वविता सुवेदीको नाममा १४ करोड रुपैयाँ निकालेको देखिएको एक सञ्चालकले जानकारी दिएका छन । सीईओ सुवेदी र पक्राउ परेका भट्टराई मामा–फुपुका छोरा दाजुभाइ हुन् ।
वविताको नाममा रहेका ९९९००००१५००१५ नम्बरको बचत खातामा ५ वर्षदेखि अर्थात् सन् २०१६ देखि २०२१ अगस्त २ सम्ममा १४ करोड रुपैयाँ भन्दाबढी रकम जम्मा भएको देखिएपछि सुवेदी समेत शंकाको घेरामा परेका थिए । सीईओ सुवेदीले आफ्नै भाउजु भगवती सुवेदीको ९९९००००८९२०१ नम्बरको बचत खातामा पनि विभिन्न मितिमा रकम जम्मा गरेको देखिएको थियो ।
सीईओ सुवेदीका साला साजन पोखरेलकी जेठी सासु बानी पोखरेल र बैंकका एच।आर। प्रमुख पदमा काफ्लेको खातामा पनि पैसा जम्मा भएको देखिएको जनाइएको छ ।
बैंकमा अनियमितता बढ्दै गएपछि बैंककै एक कर्मचारीले नेपाल राष्ट्र बैंकमा उजुरी दिएका थिए । उजुरीका आधारमा नेपाल राष्ट्र बैंकले पत्राचार गरेपछि मात्रै बैंकको नाफा रकम हिनामिना भएको सञ्चालक समितिले थाहा भएको थियो ।
रकम हिनामिना भएको पत्र राष्ट्र बैंकले पठाएपछि सञ्चालक समिति अध्यक्ष निरौलालाई हटाएर डा। अर्जुन बराललाई गत पुस १ गतेदेखि अध्यक्ष तोकिएको थियो ।
प्रहरीले गत मंसिर १९ गते भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । सीईओ सुवेदीले आफैंले जीएसडी प्रमुख भट्टराईविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएका थिए । नेपाल राष्ट्र बैंक र प्रहरीको सेन्ट्रल इन्भेस्टिगेसन ब्यूरोले पनि अनुसन्धान गरिरहेको बैंकले जनाएको छ ।
विभिन्न निकायले अनुसन्धान गरिरहेको हुँदा अनियमिततामा क–कसको संलग्नता छ भन्ने अनुसन्धान सकिएपछि मात्रै भन्न सकिने बैंकका अध्यक्ष बरालले बताएका छन् । बैंकका निक्षेपकर्ता तथा लगानीकर्ताको रकममा कुनै आँच नआउने अध्यक्ष बरालले दावी गरेका छन् ।
नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त बैंकको केन्द्रीय कार्यालय धनकुटामा रहेको छ । बैंकका १ नम्बर प्रदेशभर ३६ शाखा कार्यालय रहेका छन्।


























