सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्षका लागि जेल चलान
काठमाडौं । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन आज जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।
जिल्ला अदालत काठमाडौंले संगठित ठगीको आरोपमा पक्राउ परेका तामाङलाई आज पुस १४ गते बुधबार जिल्ला अदालत काठमाडौंले थुनामा पठाउन आदेश दिएको हो । उनीसँगै पक्राउ परेका सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई पनि थुनामा पठाउन आदेश जारी भएको जिल्ला अदालतका स्रेस्तेदार ज्ञानेन्द्र इटेनीले जानकारी दिएका छन् ।
न्यायाधीश राजकुमार कोइरालाको इजलासले तामाङ र श्रेष्ठलाई थुनामा पठाउन आदेश दिएको छ । उनीसहित ४२ जनालाई प्रतिवादी बनाउँदै सरकारी वकील कार्यालयले संगठित ठगीमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।
सिभिल सहकारीमा निक्षेपकर्ताले जम्मा गरेको रकम नतिरेपछि इच्छाराजविरुद्ध पीडितले सीआईबीमा उजुरी दिएका थिए।
पीडितको उजुरीका आधारमा सुरुमा सीआईबीले इच्छाराजसहित १२ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको थियो । उनीहरूसँग पाँच अर्ब ६३ करोड बिगो माग गरी मुद्दा दायर गरिएको थियो । तामाङ नेकपा (एमाले) का तर्फबाट विगतमा संविधान सभा सदस्य समेत भएका थिए। उनले राजनीतिक दलको आडमा समेत ठगि धन्दालाई फस्टाएका थिए।


























