पर्यटन बोर्डका सिईओ रेग्मीलाई अक्तियारको पत्र
Nepal Tourism Board. Photo: THT/ File
काठमाडौै । नेपाल पर्यटन बोर्डका सिईओ धनञ्जय रेग्मीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमिततताको आरोपमा पत्र काटेको छ ।
सिईओ रेग्मीमाथि बोर्डले उपाध्यक्ष चन्द्र रिजालको नेतृत्वमा छानविन उपसमिति बनाए लगत्तै अख्तियारले पनि पत्र लेखेको जानकारी हुन आएको छ ।
विगत एक वर्षदेखि सुस्त रहदै आएको अख्तियारले अहिले आएर भष्ट र घुस्याहालाई निगरानी गर्ने,पत्र काटने,पक्राउ गर्ने र छानवीन गरि मुद्दा चलाउने जमर्को गर्न थालेको छ।
बोर्ड स्रोतका अनुसार, रेग्मीले त्रिभुवन विश्वविद्यालयसँग जिआईएस अध्ययनका लागि गरेको सम्झौता, बेलायतमा डब्लुटीएममा नियम विपरीत गएको, सचिवालय मर्मतमा गरेको आर्थिक अनियमितता लगायतका मुद्दामा स्पष्टीकरण सोध्दै पत्र लेखेको बुझिन आएको छ ।
बोर्ड स्रोतका अनुसार रेग्मीमाथि स्पष्टीकरणको पत्र २०७८ पुस ११ गते आइतवार बोर्डमा आइपुगको थियो ।
बोर्डका सिईओ रेग्मीले त्रिविको भूगोल विभागसँग पर्यटकीय गन्तव्यहरुलाई डिजिटलाइज गराउने भन्दै करिब ५ करोड रुपैयाँको परियोजनामा सम्झौता गरेका थिए । उक्त कार्यक्रममा लागि बजेट राख्दैदेखि बोर्डमा विवाद भएको थियो ।
त्यसैगरी, सिईओको सचिवालय मर्मत सम्भारका क्रममा करिब ३५ लाख खर्च गरेको र एकै व्यक्तिलाई टुक्राटुक्रा गरेर ठेक्का दिएको लगायतका आरोप पनि लागेको थियो । यी दुवै आरोपमा अख्तियारले रेग्मीलाई स्प्पष्टीकरण सोधेको हो ।
बोर्ड स्रोतका अनुसार, कात्तिकमा बेलायतमा आयोजित डब्लुटीएममा बोर्डबाट प्रतिनिधिहिरु सहभागी हुनका लागि कम्तीमा १० वटा कम्पनी सहभागी हुनुपर्ने व्यवस्था बोर्डको नियमावलीमा व्यवस्था छ ।
उक्त व्यवस्था विपरीत ४ वटा कम्पनी सहभागी भएको बेलामा सिईओ नै सहभागी भएको भन्दै रेग्मीमाथि प्रश्न उठाइएको छ । मन्त्री प्रेम बहादुर आलेले छानविन उपसमितिमार्फत रेग्मीलाई हटाउने प्रयास गरिरहेका बेला अख्तियारले समेत पत्र काटेपछि रेग्मीमा दोहोरो मारमा परेका छन् ।























