नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा महजोडी नियुक्त
काठमाडौं । मुलुकको हास्यव्यंग्य तथा कलाकारिताको क्षेत्रमा चार दशकभन्दा लामो अवधिदेखि विशिष्ट पहिचान बनाई महजोडीका रुपमा चिनिएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नेपाल टेलिकमले “ब्रान्ड एम्बेसडर” नियुक्त गरेको जनाएकाे छ।
नेपाल टेलिकम केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रमबीच यस सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी तथा कलाकारद्वय श्रेष्ठ र आचार्य तथा कलाकारद्वयको मिडिया संयोजक शुभ मिडिया होम प्रा.लि.का अध्यक्ष सरोज वलीले हस्ताक्षर गरेका छन्।
कम्पनीका नायब प्रबन्ध निर्देशक, निर्देशक, प्रबन्धक तथा अन्य पदाधिकारीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडीले स्वागत मन्तव्य राखेकी थिइन।
कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कला र हास्यव्यंग्य क्षेत्रका दुई नक्षत्रलाई नेपाल टेलिकमको “ब्रान्ड एम्बेसडर” नियुक्त गर्न पाउँदा गौरवान्वित महसुस गरेको बताएका छन।
उनले कम समयमै थप आकर्षणसहित उपलब्ध भइरहने कम्पनीका विभिन्न सेवा-सुविधाहरुका बारेमा आमजनतालाई समयमै सुसूचित गराउन ब्रान्ड एम्बेसडरहरुको भूमिका सहयोगी हुने विश्वास लिएको पनि उल्लेख गरेका छन्।
कार्यक्रममा कम्पनीका ब्रान्ड एम्बेसडरद्वय श्रेष्ठ र आचार्यले स्वदेशको लगानी भएको, मुलुककै सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमजस्तो संस्थाको “ब्रान्ड एम्बेसडर” हुन पाएकोमा आफूहरुले गौरवान्वित महसुस भइरहेको बताएका छन।
यस सम्झौतापछि ब्रान्ड एम्बेसडरद्वयले नेपाल टेलिकमका सेवाहरुको प्रचारात्मक कार्य, ब्रान्ड प्रबर्द्वन तथा ब्रान्ड संरक्षण सम्बन्धी कार्यहरु गर्ने छन् । हाल एक वर्षका लागि सम्झौता सम्पन्न भएको र भविष्यमा सम्झौता अवधि थप गर्न सकिने व्यवस्था रहेको नेपाल टेलिकमले जनाएकाे छ।
मुलुकको कलाकारिता क्षेत्रमा विशिष्ठ पहिचान भएका “ब्रान्ड एम्बेसडर”द्वयको संलग्नताबाट कम्पनीका ग्राहकले कम्पनीका सेवा-सुविधासम्बन्धी जानकारी थप सहजरुपमा प्राप्त गर्न सम्भव हुने अपेक्षा कम्पनीले गरेको जनाएकाे छ।






















