आज नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज मंसिर २३ गते अन्तिम दिन हो । उक्त हकप्रद सेयरको लागि यसले मंसिर २४ गते बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउने छन् ।
बैंकले पुस ७ गतेदेखि शतप्रतिशत हकप्रद सेयर जारी गर्दैछ । यसले १ः१ अनुपातमा १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।
जसअनुसार बैंकले १३ करोड १२ लाख ३३ हजार ८ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ । बैंकको जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले पुस २७ गतेसम्म आवेदन दिन सक्नेछन् । यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी आइआर सिंगल सी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्न ज्यादै उच्च जोखिममा रहेको संकेत गर्दछ ।
बैंकको हकप्रद सेयरमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । हकप्रदमा ग्लोबल आइएमई क्यापिटल तथा नारायणी डेभलपमेन्ट बैंकका रजिष्टर्ड तथा शाखा कार्यालयहरु टाँडी, भरतपुर, हाकिमचोक चितवनमार्फत आवेदन दिन सकिन्छ ।
यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।






















