नेपाल इन्भेष्टमेन्ट बैंकले वार्षिक साधारण सभा मंसिर १७ गते
काठमाडौं । मंसिर १७ गते नेपाल इन्भेष्टमेन्ट बैंकले वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकले १२.६११ प्रतिशत बोनस सेयर र ३.३८९ प्रतिशत नगद लाभांश पारित गर्ने मुख्य प्रस्ताव सहित सभा बोलाएको हो ।
साथै, अन्य कुनै बैंक तथा वित्तीय संस्थालाई मर्ज वा एक्वायर गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले अधिकृत पुँजी बढाएर १८ अर्ब ५० करोड रुपैयाँ पुर्याउने प्रस्ताव पनि पेश गर्नेछ ।
यस्तै, बोनस सेयर वितरणपछि चुक्ता पुँजी बढ्ने भएकाले सोही अनुसार प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ ।
सभा बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा भिडियो कन्फ्रेन्सको माध्यमबाट पनि सहभागी बन्न सकिने बैंकले जनाएको छ । हाल यस बैंकको सेयर कारोबार रोक्का भएको छ ।
हिमालयन र इन्भेष्टमेन्ट एक आपसमा मर्जमा गएकाले दुवै बैंकको वैशाख ३१ गतेदेखि सेयर कारोबार रोक्का भएको हो । मर्ज सम्पन्न भएर एकीकृत कारोबार भएपछि अब हिमालयन एन्ड नेपाल इन्भेष्टमेन्ट बैंकको नामबाट सेयर कारोबार खुल्नेछ ।
अहिलेको प्रारम्भिक सहमति अनुसार हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच १ः१ अनुपातमा मर्जर हुन लागेका हुन् । मर्जरपछि प्रमुख कार्यकारी हिमालयनका अशोक राणा हुने छन् भने डेपुटी प्रमुख कार्यकारी इन्भेष्टमेन्टबाट ज्योति पाण्डेल सम्हाल्ने भनिएको छ । अध्यक्ष इन्भेष्टमेन्ट बैंकका पृथ्वीबहादुर पाँडे हुने सम्झौता भएको छ ।
त्यसपछि सेयर संरचनाका हिसाबले बाँकी सञ्चालक छानिने छन् । यी दुई बैंक एक अपसमा मर्जर भएसँगै चुक्ता पुँजी, निक्षेप, कर्जा लगायतमा सबैभन्दा ठूलो बैंक बन्नेछ ।
अहिलेसम्म ग्लोबल आइएमई र जनता बैंक मर्जर भएर हालसम्म यी सूचकमा ठूलो बैंक बनेको अवस्था छ । अब ग्लोबललाई हिमालयन इन्भेष्टमेन्टले जित्नेछ ।






















