भन्सार छलिका चोरी पैठारीका सामान बरामद
वीरगञ्ज । चाडबाडको समयमा सीमा नाकाहरूबाट भन्सार चोरी गरेर आयात र तस्करीको बाटोबाट निकासी समेत हुन थालेको छ । यसरी भन्सार छली गरी पैठारी गरि ल्याएको सुपारीलगायतका सामानहरूसहित ट्रक तथा ट्रयाक्टर जिल्ला प्रहरी पर्साले बरामद गरि नियन्त्रणमा लिएको छ ।
पर्सा जिल्ला प्रहरीका अनुसार ना.२ ख. ००२५ नम्बरको मालवाहक ट्रकमा मेडिकल सामाग्री लगायत अन्य किराना सामानहरु भन्सार छली गरी वीरगञ्जबाट नेपालगञ्जतर्फ लाँदै गरेको भन्ने सूचनाका आघारमा प्रहरी टोलीले २०७८ असोज १० गते बरामद गरि नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नं.१४ स्थित गण्डक चोकमा उल्लेखित नम्बरको ट्रकलाई रोकी जाँच गर्ने क्रममा ट्रकमा लोड रहेको मालवस्तुहरुको बिलविजक नरहेकोले उक्त ट्रक चालक जिल्ला मकवानपुर हेटौडा उपमहानगरपनलिका वडा नं.–१५ बस्ने वर्ष ३१ को नवीन कुमार श्रेष्ठसहित सो ट्रकलाई नियन्त्रणमा लिई सामान तथा ट्रकको रू.६५,००,०००।– (पैसठ्ठी लाख) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि २०७८ असोज ११ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।
२०७८ असोज १० गते जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं।(२४ स्थित सिर्सिया सडकखण्डको बाटो हुँदै प्रदेश नं.२–०३ –००१ थ ०००१ नम्बरको ट्रयाक्टरमा सुपारी, छोगडा तथा मरिच लगायतका मालबस्तुहरू भन्सार छली चोरी निकासी गरी भारत तर्फ लैजाँदै गरेको सूचना पर्सा प्रहरीले प्राप्त गरेपछि सो कार्यालयबाट खटिएको प्रहरी टोलीले उल्लेखित नम्बरको ट्रयाक्टरलाई रोकी जाँच गर्ने क्रममा उक्त ट्रयाक्टरको डब्बा भित्र सुपारी ४६ बोरा, छोकडा १० बोरा, मरिच ५ बोरा, केराउ ७ बोरा लगायतका सामान बरामद गरेको थियो ।
किराना सामानहरू लोड रहेको देखिएको तथा सो सामानको आवश्यक बिलबिजक लगायतका कागजातहरू तत्काल पेश गर्न नसकेकोले उक्त ट्रयाक्टर तथा मालसामानलाई ट्रयाक्टर चालक जिल्ला पर्सा धोबिनी गाउँपालिका वडा नं. ५ बस्ने बर्ष ४५ को आलिम अन्सारीसहित नियन्त्रणमा लिई जम्मा रू.२०,००,०००।–(बीस लाख) मूल्याङ्कन गरी आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको पनि पर्सा प्रहरीले जानकारी दिएको छ ।

























