खाद्य व्यवस्था कम्पनीले चिनी ल्याउन सकेन चिनी ल्याउन नसक्ने कम्पनीलाई कोटा वितरण
काठमाडौँ । चिनीको अधिक माग हुने दशैं, तिहार र छठ पर्वको वेलामा पनि सरकारले सहुलियत दरमा ल्याउने भनेको चिनी ल्याउन नसकेपछि बजारमा निजी व्यापारीहरूले बजारमा मनोपोली गरि मूल्य बढाएर चिनी बेच्दै आएका छन।
सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैँ, तिहार र छठ पर्व अगाडि ल्याउने भनेको १० हजार मेट्रिक टन भन्सार छुटको चिनी आउन अझै सकेको छैन ।
कम्पनीले गरेको पहिलो टेन्डरमा कोही पनि व्यापारी चिनी आयात गर्न इच्छुक नभएपछि अर्को टेन्डर गर्दा समय लाग्ने भएको हो । तिहार र छठपछि चिनी ल्याउने टेण्डर गर्दा तीन महिना पछि मात्र चिनी आई पुग्छ,त्यसवेला बजारमा स्थानीय चिनी मिलले पनि चिनी उत्पादन गर्न थाल्छन।
सरकारले दशैँ, तिहार र छठलाई लक्षित गरेर ३० हजार मेट्रिक टन चिनी खरिद गर्न खाद्य कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई ५० प्रतिशत भन्सार छुट दिएको थियो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई चिनी खरिद गर्नका लागि सरकारले पहिलो पटक कोटा निर्धारण गरेको हो तर पहिलो पटक नै यो कम्पनी चिनी आयात गर्न असफल भएको छ । क्षमताहिन कम्पनीलाई चिनी आयात गर्न दिएर आपूर्ति मन्त्रालयका अधिकारीहरूले मुनाफाखोरी व्यापारीलाई पोस्ने काम गरेका छन।
चिनी आयात गर्न सक्षम रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडलाई नै भंन्सार छुटको ३० हजार मेट्रिक टन चिनी ल्याउन नदिएर आपूर्ति मन्त्रालयका अधिकारीहरूले काला व्यापारी पोस्ने काम गरेको व्यापारी जगतमा चर्चा छ। यस मन्त्रालयका असक्षम र भष्ट सहसचिव र सचिवले सधै जनतालाई मूल्य वृद्विको मारमा पारेर चाडवाडमा व्यापारी पोस्ने गरेका छन।
कम्पनीको खरिद सम्बन्धी आफ्नो ऐन, नियमावली नभएको र सरकारको सार्वजनिक खरिद ऐन अनुसार खरिद प्रक्रिया थाल्दा लामो प्रक्रिया लागेकाले चिनी आयात हुन नसकेको कम्पनीका एक अधिकारीले बताएका छन ।
कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले कम्पनीले चिनी खरिदका लागि पहिलो पटक आह्वान गरिएको टेन्डरमा एउटै पनि आवेदन नपरेकाले तिहार र छठमा खाद्य कम्पनीले चिनी आयात गर्न नसकेको बताइन।
कम्पनीले अब पुनः टेन्डर कस्तो तरिका, के कसरी गर्ने भन्ने विषय छलफलकै चरणमा रहेको र अहिलेसम्म टुङ्गो नलागेकाले यस कम्पनीले चिनी ल्याउन नसक्ने निश्चित भैसकेकाले यस कम्पनीले आयात गर्ने भनिएको भन्सार छुटको १० मेट्रिक टन चिनीको कोटा पनि साल्ट ट्रेडिङ कर्पोरेशन लि. लाई दिनुपर्ने देखिन्छ।
तत्काल टेण्डर भएपनि चिनी आयात गर्न ३ महिना समय लाग्ने हुँदा कर्पोरेशनलाई दिदा १ महिनामा चिनी ल्याउन सक्ने साल्ट ट्रेडिङ कर्पोरेशनको क्षमताले देखाउछ तर आपूर्ति मन्त्रालयका भष्टहरू भने व्यापार कम्पनीलाई नै आयात गर्न दिएर चिनी आयात नहोस र बजारमा अभाव भएर मूल्य वृद्वि ,कालो बजारी होस,जनताले बढी मूल्य तिरेर मारमा परून भन्ने चाहिरहेका छन। क्षमता,पुर्वाधार र अनुभव नभएको कम्पनीलाई पुन: चिनी आयात गर भन्नू नल्याउ र बजारमा मूल्य बढन दिनु भन्ने हुन्छ मन्त्रालयका एक अधिकारीले बताए ।
सामान्य अवस्थामा चिनी खरिदका लागि कम्तीमा पनि तीन महिना लाग्ने भएकाले खाद्य कम्पनीले तत्काल आफ्नो चिनी बिक्री गर्न नसक्ने पनि मन्त्रालयका अधिकारीको दावी छ ।
खाद्य व्यापार कम्पनीले अहिले उपत्यकामा सञ्चालित सहुलियत मूल्य पसलमा साल्ट ट्रेडिङ कर्पोरेसनको चिनी किनेर सहुलियत मूल्यमा बिक्री गर्दै आएको छ ।
सरकारले गत साउन १२ गते नै ५० प्रतिशत भन्सार छुटमा खाद्य व्यापार कम्पनीलाई १० हजार मेट्रिक टन र साल्ट ट्रेडिङलाई २० हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिएको थियो । सरकारले दिएको सो स्वीकृति अनुसार साल्ट ट्रेडिङ कर्पोरेसनले सहुलियतको चिनी ल्याएर बिक्री गर्न थालि सकेको छ।
सरकारको सार्वजनिक खरिद ऐन अनुसार ४५ दिनको सूचना प्रकाशन गरी टेन्डरको मूल्याङ्कन, एलसी लगायत प्रक्रिया गर्दा छिटोमा तीन महिना समय लाग्ने भएको सूचना अधिकारी सुवेदीले जानकारी दिइन।
उनको भनाई अनुसार खाद्य व्यापार कम्पनीले तीन महिनापछि चिनी आयात गरेछ भने पनि त्सपछि नयाँ चिनी बजारमा आइपुग्ने हुँदा सो चिनी बिक्रि गर्न मुस्किल पर्दछ।
साल्ट ट्रेडिङ कर्पोरेसनका अनुसार कर्पोरेसनले भन्सार छुटमा २० हजार मेट्रिक टन चिनी ल्याउने जिम्मा पाएकामा झन्डै १० हजार मेट्रिक टन ल्याइसकेको छ । सरकारी कोटाको चिनी बिस्तारै ल्याउने क्रममा रहेको र मंसीर १५ गतेसम्ममा सबै चिनी नेपाल आइपुग्ने कर्पोरेसनका उपमहाप्रवन्धक कुमार राजभण्डारीले जानकारी दिए ।
सरकारी तथ्याङ्क अनुसार नेपालमा सामान्य अवस्थामा घरायसी र उद्योग गरी मासिक २० हजार मेट्रिक टन चिनी खपत हुन्छ । दशैँ, तिहार र छठका लागि दुई महिना थप १० हजार मेट्रिक टन चाहिन्छ ।
सहुलियत भन्सार छुटमा आयात गरेको साल्ट ट्रेडिङ कर्पोरेसनले प्रतिकिलो ७३ रुपियाँमा बिक्री गर्दै आएको छ । बजारमा भने अहिले चिनी प्रतिकेजी खुद्रा मूल्य रू.९० देखि ९५ रुपियाँमा बिक्री भइरहेको छ ।
नेपाल खुद्रा व्यापार सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले बजारमा केही दिनदेखि चिनीको भाउ मनपरी भएको बताए । श्रेष्ठले अहिले निजी व्यापारीले थोक बजारमा चिनीको प्रतिकेजीको भाउ ८३ देखि ८५ रुपियाँ पुरयाएका छन् । खुद्रा बजारमा चिनीको भाउ ९० रुपियाँ भएको छ ।























