कांग्रेसलाई महाधिवेशन लाग्यो सभापतिमा आधा दर्जन उठने
काठमाडौ । नेपाली कांग्रेसले आगामी फागुनमा पार्टीको १४औं महाधिवेशनको मिति तोकेको छ । तर महाधिवेशन सम्पन्न गराउनका लागि भन्दा नेताहरु आफ्नो उमेदवारीको तयारीमा लागेका छन् ।
सभापतिका लागि पहिलो पुस्ता नेताहरु शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल नै अग्रमोर्चामा देखिएका छन् । त्यसैगरि बर्तमान उपसभापति बिमलेन्द्र निधी, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता डा. शेखर कोइराला सभापति बन्ने दौडमा लागेका छन् ।
सभापति भन्दा दोश्रो शक्तिशाली पद महामन्त्रीमा झण्डै दर्जन नेताहरुले दावी गरेका छन् । महामन्त्रीमा पहिलो पुस्ताका डा.रामशरण महत देखि पछिल्लो पुस्ताका गगन थापासम्म दावी प्रस्तुत गरेका छन् ।
महामन्त्री पदका लागि डा. रामशरण महत, बलबहादुर केसी, महेश आचार्य, डा. मिनेन्द्र रिजाल, सहमहामन्त्री डा. प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, गगन थापाले आकांक्षा व्यक्त गरिरहेका छन् ।
दुई जना महामन्त्री पदमा सहमहामन्त्री डा. प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा समुहबाट महामन्त्रीको आकांक्षी छन् ।
त्यसैगरि नेता रामचन्द्र पौडेलको समूहबाट केन्द्रीय सदस्यहरु डा. रामशरण महत, बलबहादुर केसी, महेश आचार्य, डा. मिनेन्द्र रिजाल महामन्त्रीको आकांक्षी छन् ।
केन्द्रीय सदस्य गगन थापा पूर्वमहामन्त्री कृष्ण सिटौलाको समुहबाट महामन्त्रीको दाबि प्रस्तुत गरेका छन् । थापा अघिल्लो पटक समेत सिटौलाको समुहबाट महामन्त्रीको उम्मेदवार थिए ।
पौडेल समुहबाट महामन्त्रीको दावी गर्ने डा. रामशरण महत, बलबहादुर केसी, महेश आचार्य सिनियर नेताहरुमा पर्दछन् । डा. महत सभापति देउवा नेपाल विद्यार्थी संघको सभापति हुँदा महामन्त्री थिए । केसी देउवाले नेपाल विद्यार्थी संघको अध्यक्ष भएर महाधिवेशन गर्न नसकेपछि कार्यबहाक सभापति भएर अधिवेशन गराएका हुन् ।
त्यसैगरि पूर्व अर्थमन्त्री महेश आचार्य पनि सिनियर नेतामा पर्दछन् । आचार्यले कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको अत्यन्तै निकट भएका काम गरेका थिए । डा. मिनेन्द्र रिजाल नेपाली कांग्रेसको उदगमस्थल विराटनगरमा कांग्रेसको साख जोगाउने नेतामा पर्दछन् ।
गत आम निर्वाचनमा गिरिजाप्रसादको निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेता हुन रिजाल । उनी नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री समेत हुन् । रिजाल महामन्त्री डा. शशांक कोइराला निकट मानिन्छन् ।
त्यसैगरि देउवा समुहबाट महामन्त्रीको दावी गर्ने सहमहामन्त्री डा. प्रकाशशरण महत देउवाका सवैभन्दा विश्वास पात्रमा गनिन्छन् । पछिल्लो समय बिमलेन्द्र निधी समेत देउवासंग टाढिएका बेलामा डा. प्रकाशशरण महत सवैभन्दा बढि देउवाका विश्वासपात्र भएका छन् ।
अधिल्लो महाधिवेशन अगाडि कोइराला समुह छोडेर देउवा समुहका पुगेका नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष विश्वप्रकाश शर्मा समेत अहिले देउवा समुहबाट महामन्त्रीको दावी प्रस्तुत गरेका छन् ।
देउवाले पार्टी विभाजनको बेलामा सवै भातृ संगठनका अध्यक्ष देउवा समुहका गएका बेलामा पनि शर्मा देउवा समुहमा गएका थिएनन् ।
देउवा समुहका सवैभन्दा सशक्त महामन्त्रीका दाबेदार संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण हुन् । नेपाल तरुण दल र नेपाल विद्यार्थी संघको पूर्व अध्यक्ष खाँण देउवा समुहमा सवैभन्दा राम्रा कार्यकर्तामा नेटवर्क भएका नेता मानिन्छन् ।
कांग्रेस विभाजनका बेलामा तत्कालिन अवस्थामा गिरिजाप्रसाद कोइरालाको साथ छोडेर देउवा समुहका पुगेका खाँण १३ औं महाधिवेशन पछि सहमहामन्त्रीको आंकाक्षी थिए । देउवाले डा.प्रकाशशरणलाई सहमहामन्त्री बनाएपछि खाँण महामन्त्रीको उमेदवार देउवा समुहबाट हुनेमा ढुक्क छन् ।
नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष ज्ञानेन्द्रबहादुर कार्की पूर्व अर्थमन्त्री र सभापति शेरबहादुर देउवाका विश्वासपात्र हुन् । उनी पनि बर्तमान कार्यसमितिमा सहमहामन्त्री बन्ने दौडमा थिए । तर कार्की अहिले उपसभापति बिमलेन्द्र निधी निकट मानिन्छन् ।























