युनिभर्सल पावरले नाफा ह्वात्तै बढायो
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा युनिभर्सल पावर कम्पनीको नाफा बढेको छ । यस अवधिमा आयकर पछिको नाफा ९८.०२% ले बढेर ५ करोड ७१ लाख ७ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष यसले २ करोड ८८ लाख ३८ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो । कम्पनीको अन्य स्रोतबाट हुने आम्दानीमा सुधार आएसँगै नाफामा उल्लेख्य वृद्धि देखिएको हो । अघिल्लो वर्ष ४ करोड ५६ लाख ९६ हजार रुपैयाँ रहेको अन्य स्रोतबाट हुने आम्दानी असार मसान्तसम्ममा ८ करोड ३१ लाख १२ हजार रुपैयाँ पुगेको छ ।
यता, युनिभर्सल पावरले अझै विद्युत उत्पादन गर्न सकेको छैन । निर्माण कार्य सम्पन्न गर्न ढिलाई भएकाले अहिलेसम्म पनि विद्युत उत्पादन हुन नसकेको हो ।
कम्पनीका अनुसार यसअघि निर्धारित योजना अनुसार काम सम्पन्न हुन नसक्नुमा २०७२ सालको भूकम्प, त्यसपछि उत्पन्न नेपाल भारत सीमा अवरोध र नेपाल विद्युत् प्राधिकरणबाट ट्रान्समिसन लाइन निर्माणमा भएको ढिलाइ लगायतका कारण रहेका छन् ।
लक डाउनका कारण आयोजनाको ट्रान्समिसन लाइन, इलेक्ट्रो मेकानिकलको निर्माण कार्यपूर्व योजना बमोजिम हुन नसकेको कम्पनीको भनाइ छ । हाल यस जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा छ । व्यापारिक उत्पादन सुरु भइनसकेकाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा पनि कम्पनीले विद्युत् बिक्रीबाट आम्दानी गर्न सकेको छैन ।
हाल यसको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १० करोड १४ लाख रुपैयाँ छ । असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ७२ पैसा र प्रतिसेयर नेटवर्थ १०४ रुपैयाँ ८३ पैसा रहेको छ । यसले दोलखा जिल्लामा अवस्थित खारे खोलामा निर्माण गरिरहेको ११ मेगावाट जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ ।
त्यसैगरी, कम्पनीले माथिल्लो इङ्खु खोला जलविद्युत आयोजनाको पनि अध्ययन गरिरहेको छ । यस्तै, ४५ मेगावाटको कसुवा खोला जलविद्युत आयोजना निर्माण गर्न लगानी सम्झौता भइसकेको छ ।





















