कोरोनालाई परास्त गरी छिट्टै काममा फर्किन्छुः मेयर शाक्य
काठमाडौं । भदाै १५ गते सोमबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कोरोनालाई परास्त गरी छिट्टै जनताको सेवामा समर्पित हुने बताएका छन्।
प्रमुख शाक्यले आज मंगलबार एक अपिल प्रकाशित गर्दै भनेका छन्- ‘तपाईँहरुको निरन्तरको साथ, सहयोग, समर्थन र म प्रति देखाउनु भएको सदभावले मलाई थप ऊर्जा प्राप्त भएको छ, यो ऊर्जाले कोरानालाई परास्त गर्न मलाई थप हौसला प्राप्त भएको छ। म छिट्टै कोरोनालाई परास्त गरी तपाईँहरुको सेवामा समर्पित हुने अटल विश्वास व्यक्त गर्न चाहन्छु।’
मेयर शाक्यले अगाडि भनेका छन- ‘नेपालमा पनि हरेक दिन कोरोना संक्रमितको संख्यामा वृद्धि हुँदै गइरहेको छ। संघीय राजधानी काठमाडौं उपत्यका र काठमाडौं महानगरपालिकामा समेत संक्रमितको संख्या दिनहुँ बढिरहेको छ ।,’ शाक्यले भनेका छन- ‘यस्तो जटिल परिस्थितिमा समेत उच्च सावधानी अपनाउँदै कोभिड–१९ को नियन्त्रण र व्यवस्थापनसँगै कोरोनाको कहरबाट काठमाडौँ र उपत्यकावासीलाई जोगाउने अभिप्रायका साथ अहोरात्र कार्यक्षेत्रमा खटिरहेको अवस्थामा मलाई संक्रमण पुष्टि भएको छ।’
शाक्यले उच्च सावधानी अपनाउँदै कोभिड–१९ को नियन्त्रण र व्यवस्थापनसँगै कोरोनाको कहरबाट काठमाडौं र उपत्यकावासीलाई जोगाउने अभिप्रायका साथ अहोरात्र कार्यक्षेत्रमा खटिरहेको अवस्थामा आफूलाई संक्रमण पुष्टि भएको उनले बताएका छन्।

























