citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

सेयर बजारमा लगानी बढाउन चीनको नयाँ कदम

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

चीनले आफ्नो सेयर बजारलाई स्थिर बनाउन विभिन्न उपायहरू घोषणा गरेको छ। यसअन्तर्गत ऋण लिएर सेयर खरिद गर्ने लगानीकर्ताका लागि आवश्यक न्यूनतम मार्जिन रकम घटाउने निर्णय गरिएको छ।

चीनको धितोपत्र नियामक निकायका अनुसार सांघाई, सेन्जेन र बेइजिङ स्टक एक्सचेन्जमा मार्जिन अनुपात १०० प्रतिशतबाट घटाएर ८० प्रतिशत कायम गरिनेछ। उक्त व्यवस्था नोभेम्बर ३० देखि लागू हुनेछ।

यस निर्णयबाट बजारमा सैद्धान्तिक रूपमा करिब ४०० अर्ब युआन (झन्डै ५९ अर्ब ५८ करोड अमेरिकी डलर) थप लगानीयोग्य रकम भित्रिने अनुमान गरिएको छ।

विशेषज्ञहरूका अनुसार मार्जिन अनुपात घटाउनु चीनको सेयर बजारमा प्रतिकूल आर्थिक चक्रको प्रभाव कम गर्न प्रयोग गरिने प्रमुख नीतिगत उपकरणमध्ये एक हो। विगतमा पनि यस्तो अनुपात घटाउँदा मार्जिन कारोबार र सेयर खरिदबिक्री गतिविधिमा वृद्धि भएको थियो।

यसैबीच, सांघाई र सेन्जेन स्टक एक्सचेन्जले विभिन्न शुल्कमा छुट दिने नयाँ व्यवस्था पनि ल्याएका छन्। यसअन्तर्गत सहभागी संस्थाहरूले तिर्नुपर्ने बिजनेस युनिट प्रयोग शुल्क मिनाहा गरिनेछ।

यसअघि नै लागू गरिएको सूचीकृत कम्पनीहरूको लिस्टिङ शुल्क तथा ऋणपत्र कारोबारसम्बन्धी शुल्क छुटको व्यवस्था पनि सन् २०२८ सम्म थप दुई वर्षका लागि निरन्तरता दिइनेछ।

सेन्जेन स्टक एक्सचेन्जले सोही दिन चीनको प्रविधि तथा विकासमुखी कम्पनीहरूको बजार मानिने ‘चाइनेक्स्ट’ (ChiNext) बोर्डमा सेयर कारोबारका लागि मार्केट मेकर प्रणालीसम्बन्धी नियमको मस्यौदामाथि सार्वजनिक राय माग्न सुरु गरेको छ।

एक्सचेन्जका अनुसार मार्केट मेकर प्रणाली लागू गर्नाले बजारमा सेयरको माग तथा आपूर्तिलाई सहज बनाउनुका साथै बजारको स्थायित्व र कारोबारको गुणस्तर सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

पछिल्ला केही दिनयता चीनका प्रमुख सेयर बजार सूचकहरू ओरालो लागिरहेका बेला यी उपायहरू सार्वजनिक गरिएका हुन्। यसअघि शुक्रबार अमेरिकी सेयर बजारमा आएको ठूलो गिरावटले पनि विश्वका लगानीकर्तामा चिन्ता बढाएको थियो।

यसै महिनाको सुरुवातमा चीनको केन्द्रीय बैंकले पनि पुँजी बजारलाई सहयोग पुर्‍याउने उद्देश्यले मौद्रिक नीतिमा थप सहजीकरण गरेको थियो।

बैंकले सेक्युरिटिज, फन्ड तथा बिमा कम्पनीहरूका लागि बनाइएको स्वाप सुविधा तेस्रोपटक सञ्चालन गरेको थियो। यसबाट वित्तीय संस्थाहरूलाई रकम जुटाउन र सेयर बजारमा लगानी गर्ने क्षमता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। सिन्ह्रा

त्यस्तै, सेयर पुनर्खरिद तथा सेयर स्वामित्व वृद्धि गर्न उपलब्ध गराइने पुनः कर्जा सुविधाको ब्याजदरसमेत घटाइएको छ।

चीन सरकारले पछिल्ला नीतिगत कदममार्फत सेयर बजारमा लगानी प्रवाह बढाउने, लगानीकर्ताको विश्वास कायम राख्ने र बजारको स्थायित्व सुधार गर्ने प्रयास गरेको देखिन्छ।

IME Life
kumari