एसटीसी ग्रुप विरुद्ध साल्ट ट्रेडिङ कर्पोरेशनको उजुरी ट्रेडमार्क दुरुपयोग गरेको दाबी
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चन्द्रागिरि नगरपालिका(१५ स्थित एसटीसी ग्रुपविरुद्ध गैरकानुनी रूपमा ट्रेडमार्क प्रयोग गरेको दाबी गर्दै उद्योग विभागमा उजुरी दिएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसनले गत वैशाख १० गते एसटीसी ग्रुपविरुद्ध उजुरी दर्ता गरेको उद्योग विभाग स्रोतले बताएको छ । उद्योग विभागमा गरिएको उजुरीका अनुसार साल्ट ट्रेडिङ कर्पोरेसनसँग सम्बन्धित ‘एसटीसी’ ट्रेडमार्क गैरकानुनी रूपमा प्रयोग गरिएको दाबी गरिएको छ ।
उजुरीका सम्बन्धमा आफ्नो लिखित प्रतिक्रिया पेस गर्न विभागले एसटीसी ग्रुपका नाममा ७ दिने म्याद सूचना जारी गरेको थियो ।
विभागले उजुरीको प्रतिलिपिसहित संक्षिप्त कार्यविधि ऐन, २०२८ बमोजिम लिखित प्रतिक्रिया पेस गर्न म्याद दिएको छ ।
तर, तोकिएको समयमा एसटीसी ग्रुपबाट कुनै लिखित प्रतिक्रिया प्राप्त नभएको र म्याद तामेली सम्बन्धी प्रतिवेदनसमेत प्राप्त नभएपछि विभागले सार्वजनिक सूचना जारी गरेको छ ।
विभागले बाटाको म्यादबाहेक सात दिनभित्र कानून शाखामा आइपुग्ने गरी आवश्यक सबुद प्रमाणसहित लिखित प्रतिक्रिया पेस गर्न एसटीसी ग्रुपलाई लिखितपत्र सहितको सुचना र म्याद दिएको छ ।
विभागका अनुसार सम्बन्धित पक्षले आफैँ वा आफ्नो कानूनी प्रतिनिधिमार्फत उपस्थित भई लिखित प्रतिक्रिया तथा प्रमाण पेस गर्न सक्नेछ ।
तोकिएको म्यादभित्र लिखित प्रतिक्रिया प्राप्त नभएमा प्रचलित कानूनबमोजिम कारबाही अघि बढाइने विभागले स्रोतले जानकारी दिएको छ ।























