सिदार्थ बैंकको नाफासँगै प्रतिशेयर आम्दानी बढ्यो
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको अन्तिम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार अघिल्लो आवको तुलनामा गत आर्थिक वर्षमा बैंकको नाफा सहित प्रतिशेयर आम्दानीमा वृद्धि आएको देखिएको हो ।
गत आर्थिक वर्षमा बैंकले ३ अर्ब ५१ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो बैंकले अघिल्लो आर्थिक वर्षमा कमाएको ३ अर्ब ३६ करोड ६६ लाख रुपैयाँको तुलनामा साढे ४ प्रतिशतले बढी हो ।
बैंकले गत आर्थिक वर्षमा करीब ९ अर्ब ५ करोड १२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको देखिएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको यस्तो आम्दानी ८ अर्ब ४३ करोड ९८ लाख रुपैयाँ रहेको थियो । त्यस्तै बैंकले गत आर्थिक वर्षमा १ अर्ब ८६ करोड ४७ लाख रुपैयाँ खुद फी तथा कमशिन आम्दानी गरेको छ जुन अघिल्लो आर्थिक वर्षमा १ अर्ब ५८ करोड ४३ लाख रुपैयाँ रहेको थियो ।
त्यसैगरी बैंकले गत आर्थिक वर्षमा १२ अर्ब ५ करोड १६ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको जुन अघिल्लो आर्थिक वर्षको ११ अर्ब ९ करोड ८६ लाख रुपैयाँको तुलनामा ८.५९ प्रतिशतले बढी हो । त्यस्तै बैंकको सञ्चालन मुनाफा पनि ४ अर्ब ९७ करोड ४८ लाख रुपैयाँबाट ५ अर्ब १६ करोड २७ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) २२.७६ रुपैयाँबाट २३.०६ रुपैयाँ पुगेको छ भने खराब कर्जा (एनपीएल) ०.६६ प्रतिशतबाट १.०६ प्रतिशत कायम भएको छ । बैंकको आधार दर (बेसरेट) ६.४२ प्रतिशतबाट घटेर ५.०२ प्रतिशतमा झरेको छ । बैंकको प्रतिशेयर नेटवर्थ २२५.१७ रुपैयाँ रहेको छ ।
चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँबाट १८ अर्ब २९ करोड ४४ लाख रुपैयाँ पुगेको बैंकको रिजर्भ कोषमा १६ अर्ब ९२ करोड रुपैयाँ सञ्चिति रहेको छ । बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८३ करोड ७८ लाख रुपैयाँबाट १ अर्ब ७० करोड ५६ लाख रुपैयाँमा झरेको छ ।
बैंकको कर्जा लगानी पनि उल्लेख्य मात्रामा वृद्धि भएको देखिएको छ । बैंकले ग्राहकमा गरिने कर्जा लगानी २ खर्ब १४ अर्ब ४५ करोड ६४ लाख रुपैयाँबाट बढाएर २ खर्ब ३३ अर्ब ८७ करोड २६ लाख रुपैयाँ पुर्याएको छ भने निक्षेप संकलन पनि २ खर्ब ८० अर्ब ३२ करोड १३ लाख रुपैयाँबाट बढेर ३ खर्ब २७ अर्ब १ करोड ६४ लाख रुपैयाँ पुगेको छ ।




















