निगममा ओभरटाइम, भत्ता कटौती गरिँदै
काठमाडौँ । नेपाल आयल निगममा अतिरिक्त काम गरेबापत उपलब्ध गराइँदै आएको भत्ता कटौती गरिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अतिरिक्त काम (ओभरटाइम) गरेबापत दिइँदै आएको भत्ता कटौती गर्ने तयारी गर्नुभएको हो ।
निगममा ओभरटाइमका नाममा भइरहेको करोडौँ रुपियाँको अनावश्यक खर्च र अनियमितता रोक्न मन्त्री यादवले कटौती गर्न लाग्नुुभएको हो ।
निगमको कर्मचारी प्रशासन नियमावली, २०६३ अन्तर्गत ‘सेवा सुविधा’ शीर्षकमा व्यवस्था गरिएको अतिरिक्त कार्यभत्तालाई अब ‘सिफ्ट प्रणाली’ का आधारमा पुनर्संरचना गर्ने गृहकार्य अघि बढाइएको मन्त्रालयले जनाएको छ ।
निगममा ओभरटाइम भत्ताका नाममा गत वर्ष मात्रै वार्षिक १३ करोड रुपियाँसम्म खर्च भएको थियो । मन्त्री यादवले फजुल खर्चले संस्थालाई आर्थिक भार पारेको र यसले अनियमिततालाई समेत बढावा दिएको भन्दै उक्त खर्च कटौती गर्ने निर्णय गर्नुभएको मन्त्रालयले जनाएको छ ।






















