सिट्रोनले ल्याउँदै ई–सी ३ एक्स, पहिलो टिजर सार्वजनिक
सिट्रोनले आफ्नो लोकप्रिय इलेक्ट्रिक ह्याचब्याक ई–सी३ को अपडेट भर्सन सिट्रोन ई–सी३ एक्सको पहिलो टिजर जारी गरेको छ। सो नयाँ मोडलले टाटा टियागो ईभी र टाटा पन्च ईभीसँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।
टिजरका अनुसार नयाँ ई–सी३ एक्समा एलईडी प्रोजेक्टर हेडलाइट, एलईडी फगलाइट र आकर्षक अलोय ह्विल समावेश गरिएको छ । साथै, प्रोक्सी सेन्स किलेस इन्ट्री सिस्टम र पुश स्टार्ट बटन जस्ता सुविधाले गाडीलाई अझ आधुनिक बनाउने अपेक्षा गरिएको छ।
यसको इन्टेरियर डिजाइनमा पनि केही परिवर्तन गरिएको छ । यसमा लेदरले बेरिएको स्टेयरिङ ह्विल, क्रुज कन्ट्रोल, एलईडी एम्बियन्ट लाइटिङ, फास्ट चार्जिङका लागि यूएसबी टाइप सी पोर्ट, अटोमेटिक क्लाइमेट कन्ट्रोल र १०.२ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध हुनेछ।
सेफ्टीका लागि नयाँ ई–सी३ एक्समा स्ट्यान्डर्ड रूपमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटि प्रोग्राम, ईबीडीसहितको एबीएस, हिल होल्ड असिस्ट, टायर प्रेसर मनिटरिङ सिस्टम, स्पिड सेन्सिटिभ अटो डोर लक र इन्जिन इमोबिलाइजर जस्ता फिचर समावेश गरिएको छ ।
गाडीमा २९.२ किलोवाट आवर क्षमताको ब्याट्री प्याक दिइएको छ , जसले फुल चार्जमा ३२० किलोमिटरको दूरी तय गर्न सकिने कम्पनीको दाबी छ ।
विद्युतीय मोटरले ५७ पीएस पावर र १४३ एनएमको टर्क उत्पादन गर्नेछ भने यसको अधिकतम गति १०७ किलोमिटर प्रतिघण्टा रहनेछ। यसमा १७० एमएमको ग्राउन्ड क्लियरेन्स र ३१५ लिटरको बुट स्पेस दिइएको छ ।





























